सोमवार, 23 नवंबर 2015

रिमोट चलाएर उपभोक्ता ठग्ने १७ पेट्रोल पम्प सिलबन्दी

पुष्प दुलाल ७ मंसिर, काठमाडौं । उपभोक्ता ठगी गर्ने यन्त्र जोडेर रिमोट सिस्टममार्फत् ठगी गर्दै आएका राजधानीका १७ वटा पेट्रोल पम्पलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा हनुमानढोकाले बन्द गरेको छ । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाल नेतृत्वको टोलीले आइतबार रातभर पेट्रोल पम्पमा छामा मारेर पम्पहरु सिलबन्दी गरेको हो । 
Petrol-Pumpप्रहरीले ७ वटा पेट्रोल पम्पबाट ७ जना सञ्चालक र ६ प्राविधिक गरी १३ जना तथा रिमोट र जडित यन्त्र नियन्त्रणमा लिएको एसएसपी खनालले अनलाइनखबरलाई जानकारी दिए ।
आइतबार राती १६ वटा र सोमबार दिउसो चाबहिलको बागेश्वरीस्थित पुष्पाञ्जली पेट्रोल पम्प सिल गरेको हो । प्रहरीले आइतबार क्रिष्टल पेट्रोल पम्प, महालक्ष्मी पेट्रोल पम्प, बालकुमारी, गायत्री देबी र प्रशान्त आयल स्टोर एकान्तकुना लगायतका १६ वटा पेट्रोल पम्पमा सिल गरेको थियो ।

पक्राउ परेका पम्प सञ्चालकहरुलाई म्याद थप गरी हिरासतमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको खनालले बताए । छापा मारेकामध्ये ९ वटा पेट्रोल पम्प बन्द अवस्थामा रहेकाले पक्राउ गर्न नसकिएको उनले जानकारी दिए । ‘प्रहरीले छापा मार्ने सुइँको पाएपछि ९ वटा पेट्रोल पम्प बन्द गरेर सञ्चालक र कर्मचारीहरु फरार भएका छन् । पम्पमा प्रहरीले सिल गरी उनीहरुको खोजी कार्य तीब्र पारेको छ,’ उनले भने ।
अभियुक्तहरुको बैंक खाता छानबिन सुरु
नियन्त्रणमा लिइएका सञ्चालकहरुको बैंकिङ कारोबार र को-को सँग सेटिङ छ भनेर छानविन समेते गरिरहेको खनालले जानकारी दिए । ‘पक्राउ परेका अभियुक्तहरुको को-कोसँग सेटिङ छ र बैंकिङ कारोबार भएको छ भनेर अनुसन्धान थालेका छौं,’ उनले भने ।
यसरी ठगिन्छन् उपभोक्ता
पेट्रोल पम्पहरुको कम तेल झरे पनि सुइरोले बढी देखाउने यन्त्र जोडेर उपभोक्ता ठगी गर्दै आएको प्रमाण प्रहरीले फेला पारेको छ । रिमोट सिस्टमबाट चल्ने उक्त यन्त्रले सय लिटर पेट्रोल भर्दा २ देखि ४ लिटरसम्म ठगी गर्न सकिने मिस्त्री आयोब आलमले बताए ।
राजधानीका १६ वटा पेट्रोल पम्पमा उनै आलमले ९ महिनादेखि यस्तो मेसिन जोडेका थिए । आलमले एउटा मेसिन जोडेबापत ३० हजार रुपैयाँ लिँदै आएका थिए । प्रहरीले आलमलाई पक्राउ गरेपछि रिमोट सिस्टमबाट पेट्रोलियम पदार्थमा ठगी हुने गरेको राज खुलेको हो ।
‘एन्टि क्राइसेस मंगर’ अपरेशन
पेट्रोलियम पदार्थमा व्यापक ठगी र कालोबजारी भइरहेको तथ्यपरक सूचना पाएपछि महाशाखाले आइतबारदेखि ‘एन्टि क्राइसिस मंगर’ अपरेशन सुरु गरेको थियो ।
यस्तो मेसिन जोडेर ठगी भएको यो नेपालको पहिलो घटना भएको एसएसपी खनालले जानकारी दिए । 

कोई टिप्पणी नहीं: