सोमवार, 9 नवंबर 2015

नेपालीको दोस्रो ठूलो चाड तिहार सुरू, अाज काग तिहार मनाइँदै !

२३ कात्तिक, काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहार आज कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक कृष्ण चतुर्दशीका दिन मङ्गलबार कुकुर तिहार, कात्तिक कृष्ण औँसीका दिन बुधबार लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३६, र म्हः(आत्म) पूजा एवम् तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन शुक्रबार भाइटीका लगाई तिहारको समापन गरिन्छ । कात्तिक कृष्ण त्रयोदेशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ । यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशबाहकका रुपमा लिइन्छ । आधुनिक सञ्चारको सुरुवात् हुनुअघि कागको गोडामा सन्देश भुन्ड्याएर पठाउने गरिन्थ्यो ।
यसैले कागलाई सन्देशबाहक पनि भनिन्छ । घर आँगनमा आई काग कराएमा शुभ बोल भन्ने चलन पनि छ । काग घरअघि आएर कराउँदा उसले केही सन्देश भनेको भनी विश्वास गर्ने प्रचलन छ । आजको दिन कागलाई पूजाआजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता रहेको छ । वैदिक सनातन हिन्दू धर्मअनुसार कागलाई यमदूतका रुपमा पनि लिइन्छ । तिहारमा काग, कुकुर, गाई, गोवद्र्धन, दाजुभाइ र दिदीबहिनीका अतिरिक्त बलि राजाको पनि पूजा गर्ने धार्मिक विधि रहेको छ । बलि राजाको पूजाका सम्बन्धमा एउटा किंवदन्ती पनि प्रचलित छ । जसअनुसार वैदिक कालमा असुरराज बलिले पृथ्वीमा शासन गर्थे । उनी दानी राजाका रुपमा कहलिएका थिए । उनको दानशीलताबाट देवताहरुसमेत भयभीत भएका थिए । भयभीत भएका देवताले विष्णुको आराधना गरी बलि राजालाई पातालमा भास्न लगाएको कथा पुराणहरुमा वर्णन गरिएको छ । भगवान् विष्णुले वामन अवतार धारण गरी बलि राजासित ब्राह्मणको भेषमा तीन पाउ राख्न पुग्ने स्थान माग गरे । पहिलो पाउले अन्तरिक्ष ढाक्यो । दोस्रो पाउले पृथ्वी ढाकेपछि तेस्रो पाउ राख्ने ठाउँ माग गर्दा बलि राजाले शिर थापेका थिए । शिरमाथि वामन रुप धारी भगवान् विष्णुले पाउ राख्दा पातालमा भासिएको कथा वामन पुराणमा वर्णन गरिएको छ । लक्ष्मी पूजाका दिनमा भैलो र गोवद्र्धन पूजाका दिनमा देउसी खेल्ने परम्परा छ । भैलो महिलाले र देउसी पुरुषले खेल्ने प्रचलनसमेत अहिले बदलिएको छ । अहिले महिला पुरुष दुवैले देउसी भैलो खेल्न थालेका छन् । तिहारलाई उज्यालोको पर्वका रुपमा समेत चिनिन्छ । ‘तमसोमा ज्योतिर्गमय’ भन्ने वैदिक मन्त्रका आधारमा तिहारलाई उज्यालो पर्वका रुपमा वैदिककालदेखि नै मनाउन सुरु गरिएको हो । लक्ष्मीपूजाका दिनदेखि घर घरमा दीपावली गरी झिलीमिली बनाउने परम्परा पनि अहिले तिहार सुरु हुनुभन्दा एक हप्ताअघिदेखि नै गर्न थालिएको छ । दीपावलीसमेत भनिने तिहारमा दीपहरुको माला बनाएर बाल्दा अन्धकारमात्र नभई अज्ञानसमेत नासिन्छ । प्राकृतिक रुपमा पनि सयपत्री, मखमली र गोदावरीजस्ता फूल फुल्ने समयमा तिहार पर्व पर्ने भएकाले वातावरण हेर्दै तिहार आएजस्तो अनुभव हुन्छ । तिहारलाई फूलको पर्वका रुपमा समेत लिइन्छ । तिहारमा पूजा गरिने पशुपक्षीदेखि घरका झ्याल ढोकामा समेत फूलको माला लगाउने गरिन्छ । घरका झ्याल, ढोकामा माला लगाई लक्ष्मीपूजा गर्दा धनकी देवी महालक्ष्मी प्रसन्न भई धन ऐश्वर्य वृद्धि हुने धार्मिक विश्वास छ ।  

कोई टिप्पणी नहीं: