मंगलवार, 24 नवंबर 2015

नाकाबन्दीका कारण पहाडी जिल्लामा औषधि रित्तिँदै

मंसिर ८, - डडेलधुराको अपी अस्पतालमा रित्तिँदै गएको औषधि भण्डार कक्ष । अस्पतालका अनुसार यसमा अधिकांश अत्यावश्यक औषधि छैनन् भने सामान्य दुखाइ कम गर्ने औषधिसमेत सकिँदै गएको छ ।   भारतको नाकाबन्दीका कारण सुदूरपश्चिम र पूर्वका पहाडी जिल्लामा अत्यावश्यक औषधिको चरम अभाव भएको छ। त्यसले आकस्मिक स्वास्थ्य सेवासमेत प्रभावित भएको छ। अक्सिजनसमेत नहुँदा गम्भीर प्रकृतिका बिरामी ठूलो समस्यामा परेका छन्।
‘औषधि अभावमा बिरामीको ज्यान जोखिममा पर्न थालेको छ,’ उपक्षेत्रीय अस्पताल डडेलधुराका डा. राजेश बाहुनले भने, ‘सुदूरको एकमात्र उपक्षेत्रीय अस्पतालमा समेत औषधि अभाव छ भने अन्य अस्पतालको अवस्था सहजै अनुमान गर्न सकिन्छ।’ उनका अनुसार सुदूरपश्चिमका पहाडी जिल्लाबाट दैनिक ३/४ सय बिरामी उपचारका लागि आउने उपक्षेत्रीय अस्पताल मात्र नभई निजी क्लिनिक र औषधि पसलमा समेत अत्यावश्यक औषधिको अभाव भएको छ। ‘छिटोभन्दा छिटो आपूर्ति नहुने हो भने स्थिति गम्भीर हुन सक्छ,’ उनले भने।
उक्त अस्पतालस्थित साझा औषधि पसलका प्रमुख टोपबहादुर पौडेलका अनुसार विभिन्न जिल्लाबाट आउने बिरामी औषधि नपाएर रित्तै फर्कन बाध्य छन्। त्यही समयमा चिसोका कारण वृद्धवृद्धामा दम र बालबालिकामा निमोनियाको संक्रमण बढेको छ। यस क्षेत्रमा तराईका विभिन्न सहर र सीमावर्ती भारतीय बजारबाट औषधि आयात हुन्थ्यो।

सुदूरपश्चिमका पहाडी क्षेत्रमा औषधि अभाव भएको डेढ महिना बितिसकेको छ। सरोकारवाला निकायले कुनै चासो नदिएको स्वास्थ्यकर्मीको गुनासो छ। सीमावर्ती भारतीय बजारबाट ल्याउनसमेत भारतीय पक्षले अवरोध गरेको सुजंग अस्पताल डोटीका प्रमुख पुष्करराज पनेरूले बताए। ‘पहाडी जिल्लामा औषधि नपाएपछि तराईका कैलाली र कञ्चनपुर पुग्ने बिरामीले समेत अभाव झेल्नुपरेको छ,’ पनेरूले भने, ‘भारतीय बजारमा स्थानीय प्रशासनले थोकमा औषधि नबेच्न निर्देशन दिएका कारण सामान्य आयातसमेत हुन नसकेको हो।’

असोजदेखि नै आपूर्ति ठप्प
सुदूरपश्चिम औषधि व्यवसायी संघका अध्यक्ष दुश्यन्त बस्नेतले अस्पताल र औषधि पसलमा असोजदेखि नै आपूर्ति गर्न नसकिएको बताए। उनका अनुसार ९० प्रतिशत औषधि वीरगन्ज नाकाबाट आयात हुन्छ। मधेस आन्दोलन र भारतको नाकाबन्दीले भारतबाट आयात हुने ९० प्रकारका अत्यावश्यक औषधि ल्याउन नसकिएको उनले जनाए।

स्वदेशमा उत्पादित औषधिसमेत इन्धन अभावमा ढुवानी हुन नसकेको उनले जानकारी दिए। सरकारले उपलब्ध गराउँदै आएको ४० प्रकारका औषधिसमेत सुदूरपश्चिममा बढीमा एक महिनालाई पुग्ने मौज्दात छ। क्षेत्रीय मेडिकल स्टोरका प्रमुख लक्ष्मीकुमार श्रेष्ठले सरकारले उपलब्ध गराउने सबै प्रकारका औषधि रित्तिँदै गएको जानकारी दिए।

‘पथलैया र काठमाडौंबाट सोमबार औषधि लोड गरेर केन्द्रीय कार्यालयले पठाउँदै छु भनेको छ,’ उनले भने, ‘आउन सकेन भने एक महिनाभन्दा बढी धान्न सकिँदैन।’ क्षेत्रीय मेडिकल स्टोरमा पनि २० भन्दा बढी प्रकारका औषधि सकिएको उनले बताए।
अभावकै कारण चिकित्सकहरूले सिफारिस गरेका औषधि बिरामीले पाउन सकेका छैनन्। सेती अञ्चल अस्पतालका डा. शुभेषराज कायस्थले बिरामीलाई वैकल्पिक औषधि लेखेर दिनुपर्ने अवस्था आएको बताए। नाकाबन्दी लम्बियो भने औषधिको चरम अभाव हुने उनले बताए।

नि:शुल्क औषधि पनि छैनन्
पहाडी जिल्लामा मात्र होइन, तराईको कञ्चनपुरमा पनि सिटामोललगायत अत्यावश्यक औषधि सकिन लागेको स्वास्थ्यकर्मीहरूले जानकारी दिए। उनीहरूका अनुसार सरकारले नि:शुल्क वितरण गर्ने भनेका ३५ प्रकारका औषधिमध्ये अधिकांश उपलब्ध छैनन्। ‘नयाँ आर्थिक वर्ष सुरु भएयता आयात हुनै सकेको छैन,’ जिल्ला जनस्वास्थ्य कार्यालयका कोल्ड चेन अधिकृत जनक कुँवरले भने, ‘पुरानो मौज्दात पनि रित्तिँदै छ।’

औषधि व्यवसायीहरूका अनुसार दीर्घरोगीहरूका लागि आवश्यक औषधि अभाव भइसकेको छ। खासगरी दम, मधुमेहलगायत लामो समयसम्म सेवन गर्न‘पर्ने औषधि पाउन नसकिने अवस्था सिर्जना भएको छ। ‘नियमित रूपमा सेवन गर्नुपर्ने मुटु, रक्तचाप र डाइबिटिजका औषधि अभाव छ,’ कामना मेडिकल महेन्द्रनगरका सञ्चालक गोपाल पन्तले भने, ‘छारे, मानसिक रोग र विषादी प्रयोगजस्तो आकस्मिक उपचारमा प्रयोग हुने औषधिको चरम अभाव छ।’

पन्तका अनुसार प्रयोगशालामा चाहिने रसायनहरूको पनि अभाव भएको छ। कञ्चनपुरमा धनगढीका ६ र महेन्द्रनगरका ५ वितरकसँगै नेपालगन्जबाट पनि औषधि आपूर्ति हुने गरेको थियो। भारतीय औषधि पनि भित्रिने गरेका थिए। ‘व्यवसायीले भारतबाट औषधि आयात गर्न पाएका छैनन्,’ उनले भने, ‘चिकित्सकले लेखेका औषधि छैन भनेर पठाउनुपर्ने अवस्था छ।’

औषधि व्यवसायी संघ कञ्चनपुरका सदस्य गजेन्द्र लेखकका अनुसार भारतीय कम्पनीका औषधि पाइन छाडेको छ। ‘इन्जेक्सनमार्फत प्रयोग हुने औषधिहरू छैनन् भन्दा पनि हुन्छ,’ उनले भने, ‘अधिकांश त्यस्ता औषधि भारतीय कम्पनीकै भएकाले बढी समस्या परेको हो।’

पूर्वी पहाडमा हाहाकार
इलाममा औषधिको चरम अभाव सुरु भएको छ। सरकारले नि:शुल्क वितरण गर्ने औषधि नै ९० प्रतिशत सकिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। जिल्ला अस्पतालसहित ४ प्राथमिक स्वास्थ्य केन्द्र र ४४ स्वास्थ्यचौकीमा औषधि रित्तिँदै गएको कार्यालय प्रमुख राजकुमार पोखरेलले बताए। दसैं अघिदेखि नै अभाव सुरु भए पनि त्यसपछि केही मात्रामा आएको औषधिले अहिलेसम्म धानेको थियो। स्वास्थ्य संस्थाले माग गरिरहेका छन्, जिल्लामा मौज्दात नभएकाले पठाउने अवस्था छैन। बिरामीको चाप धेरै हुने चुलाचुली, फिक्कल, मंगलबारेलगायत क्षेत्रमा धेरै औषधि सकिएका छन्।
 गर्भवतीले प्रयोग गर्ने आइरन चक्की, एन्टिबायोटिक, एन्टिएलर्जिकजस्ता औषधि पाइन छाडेको छ। सदरमुकाममा रहेका आधा दर्जन निजी क्लिनिक सञ्चालकहरूका अनुसार बजारमा पनि अभाव चुलिँदै गएको छ।
 बिरामीले मागेको औषधि दिन सक्ने अवस्थामा नरहेको ताप्लेजुङका औषधि व्यवसायी सुन्दरमोहन शाक्यले बताए। उनका अनुसार मधुमेह, रक्तचाप, मुटुलगायत बिरामीका औषधि सकिएका छन्। ‘बिरामीले खाँदै आएको औषधि दिन सक्ने अवस्थामा छैनौं, पाएसम्म त्यसैको काम गर्ने अर्को कम्पनीको औषधि दिनुपर्ने अवस्था छ। तर बिरामीले लान मानेका छैनन्,’ स्वास्थ्यकर्मी रमेश आचार्यले भने।
आगामी साता दिनसम्म औषधि आयात गर्न नसके रक्तचाप र मधुमेहको वैकल्पिक औषधि पनि दिन नसकिने उनले बताए। चिसोका कारण अस्पतालमा बिरामी तुलनात्मक रूपमा कम छन्। सोही कारण चरम अभाव महसुस नभएको आचार्यले बताए। जिल्ला अस्पतालले सुत्केरी महिलाका लागि आवश्यक औषधि गत कात्तिकमा क्लिनिकबाट खरिद गरेको थियो।

जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाले भने एक महिनालाई पुग्ने औषधि मौज्दात रहेको जनाएको छ। वरिष्ठ जनस्वास्थ्य अधिकृत सागर प्रसाईंका अनुसार केही दिनअघि केन्द्रबाट ल्याइएको औषधि थोरै जगेडा छ। ‘अत्यावश्यक औषधि भएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘निजी औषधि पसलहरूमा पनि औषधि छन्।’ सुत्केरी गराउँदा आवश्यक अक्सिटोसिन, ब्रुफिन, ग्यास्ट्रिकका औषधि र सर्जिकल सामान भने अपुग रहेको उनले बताए। तिहारपछि तराईको बन्द केही खुकुलो भएका बेला औषधि ल्याएको उनले जनाए।
 पूर्वका जोगबनी र काँकडभिट्टा नाकामा औषधि बोकेका सवारीसाधन रोकिएको जानकारी नआएको भन्सार प्रमुखहरूले जनाएका छन्। औषधिका कच्चा पदार्थ पनि निर्वाध आइरहेको उनीहरूको भनाइ छ। तर, ती नाकाबाट छिरेका औषधिले थोरै अंश पनि पुग्दैन। व्यवसायीहरूका अनुसार वीरगन्ज नाका सुचारु नहुन्जेल अभाव हट्न सक्दैन। पूर्वका १६ जिल्लामा औषधि आपूर्ति गर्दै आएको पुर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोरले भने अत्यावश्यक औषधिको अभाव सुरु भएको जनाएको छ।

(डीआर पन्त/डडेलधुरा, मोहन बुढाऐर/धनगढी, भवानी भट्ट/कञ्चनपुर, लीलाबल्लभ घिमिरे/विराटनगर, विप्लव भट्टराई/इलाम, आनन्द गौतम/ताप्लेजुङ र दीपेन्द्र शाक्य/संखुवासभा) 

कोई टिप्पणी नहीं: