शनिवार, 21 नवंबर 2015

भूमिसुधार मन्त्रीको निश्कर्ष : ‘जसको जोत उसको पोत’को नाराले जमीन बाँझो भयो

५ मंसिर, धरान । भूमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बाले ‘जसको जोत, उसको पोत’ भन्ने नाराका कारण जमीन बाँझै राख्ने प्रवृत्ति बढेको र त्यसले राष्ट्रिय उत्पादनमा ठूलो ह्रास आएको बताएका छन् ।
RamKumar-Subbaमन्त्री बन्नासाथ झापा, मोरङ र सुनसरीको खेतीयोग्य जग्गाजमीनको अवलोकन गरेपछि यस्तो निष्कर्ष निस्किएको धरानमा आयोजित कार्यक्रममा मन्त्री सुब्बाले बताए ।
मन्त्री भएपछि एक दिन मात्रै मन्त्रालय गएर आफु स्थलगत भ्रमणमा रहेको बताउँदै मन्त्री सुब्बाले भने-‘धेरैले प्लटिङका कारण उत्पादन घट्यो भनेर सोच्छन् तर प्लटिङभन्दा धेरै ‘जसको जोत उसको पोत’ को डरले धेरै जग्गा हुनेहरुले अरुलाई जोत्न नदिँदा राष्ट्रिय उत्पादनमा ह्रास आएको छ ।’
धरान उपमहानगरपालिका र स्थानीय राजनीतिक दलले आयोजना गरेको बधाइ ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री सुब्बाले झापा, मोरङ र सुनसरीका धेरै जग्गामा त्रिपक्षीय, द्वीपक्षीय स्वामित्व रहेकाले त्यसले ठूलो समस्याको रुप लिएको बताए ।

तीस प्रतिशतभन्दा बढी नागरिकको भविष्य यस्तै विवादित जग्गाका कारण अन्यौलमा रहेको पनि उनले बताए । मन्त्री सुब्बाले भने-‘इटहरीको जनतावस्तीकै उदाहरण लिँदा हुन्छ, त्यहाँको जग्गामा रिजाल क्यानिङ एन्ड कम्पनीको पनि दाबी छ, सुकुम्बासी पनि बसिरहेका छन, त्यो जग्गामा सरकारको पनि दाबी छ, यस्ता समस्या पूर्वमा धेरै रहेछन् ।’
सुनसरी उद्योग वाणिज्य संघको सभा कक्षमा भएको कार्यक्रममा धरान उपमहानगरका कार्यकारी अधिकृत टीकादत्त राई, संघका अध्यक्ष सरोज श्रेष्ठलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिले मन्त्री सुब्बालाई बधाइ दिँदै समस्यामा रहेका धेरै जग्गा जमीनको समाधान खोज्न आग्रह गरेका थिए ।

कोई टिप्पणी नहीं: