शुक्रवार, 6 नवंबर 2015

मधेश आन्दोलनबारे तीन दलले कुनै निष्कर्ष निकाल्न सकेनन्

काठमाडौँ कात्तिक २० । तराई–मधेसमा मधेस केन्द्रित दलको जारी आन्दोलन र ती दलका मागका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको तीन दलको बैठक बिनानिष्कर्ष सकिएको छ ।
बैठकमा विनाशकारी ‘गोरखा भूकम्प’पछिको पुनःनिर्माण प्राधिकरण गठन गर्ने विषयमा पनि छलफल भएको थियो । अघिल्लो सरकारले पुनःनिर्माण प्राधिकरण अध्यादेश ल्याए पनि त्यसको अवधि सकिएपछि पुनः निर्माणका कामले गति पाउन सकेको थिएन । यसबारे सरकारले संसदमा नयाँ विधेयक ल्याउनुपर्ने छ । गत वैशाख १२ को विनासकारी भूकम्पपछि सो प्राधिकरण गठनमा तीन दलबीच विगतमा सहमति भएको थियो ।
सरकारले राष्ट्रिय महत्वका सवालमा प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि छलफल गर्दै जाने क्रममा बैठक गरिएको र आगामी दिनमा पनि यस्ता छलफल कायम राख्ने गरी बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । नयाँ सरकार बनेपछि राजनीतिक समस्या समाधानबारे हिजो पहिलो पटक प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको हो । बैठकमा सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र एनेकपा माओवादीका नेता सहभागी थिए । रासस

कोई टिप्पणी नहीं: