बुधवार, 11 नवंबर 2015

बाहिरबाहिर राष्ट्रवाद, भित्रभित्र भागबण्डा जिन्दावाद !

कार्तिक २५ - ठूलो कष्ट गरेर बल्लतल्ल आक्कल झुक्कुल ५/१० लिटरसम्म इन्धन पाइने अवस्था पनि सकियो । इन्धन अब पूरै बन्द । खाना पकाउने ग्यास र मट्टितेलको पनि पुरै अभाव । बजार र आपूर्ति व्यवस्था अस्तव्यस्त । आपद–विपदको यो अवस्था छ । इन्धन चोरीचकारी र कालाबजारीको अहिले बिगबिगी छ । महँगीले डाँडा काटेको छ । सरकारका तर्फबाट न अनुगमन, न नियन्त्रण, न व्यवस्थापन – भुटिभाङ केही छैन । जनतामा हाहाकार छाएको छ ।
बाहिरबाहिर राष्ट्रवाद, भित्रभित्र भागबण्डा जिन्दावाद !एकातिर मुलुकको अवस्था यो छ । अर्कोतिर ओली सरकार भने आधा दर्जन उप–प्रधानमन्त्रीलगायतका मन्त्री, राज्यमन्त्री, सहायक मन्त्रीको थुप्रो लगाइरहेको छ । अब ती सबै तहका मन्त्रीलाई महँगा गाडी, तिनका लागि अगुवा–पछुवा सुरक्षाकर्मीसहितको जीप र भ्यानका लागि इन्धन खर्च गर्नुपर्ने छ । तिनका लागि खाना पकाउने ग्यास र मट्टितेलको अभाव हुने छैन । ती मन्त्रीका सल्लाहकार र सहायकलगायत अरु आसेपासे जमातका लागि पनि गाडी कुद्ने छन् । तिनका लागि पनि इन्धनको अभाव हुनेछैन । भारतीय नाकाबन्दीले मुलुक छियाछिया भएको यो अवस्थामा सबै नेतालाई उप–प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायकमन्त्री खानुपर्ने । अनि कुनै लज्जा महसुस नगरी तिनै मन्त्री र नेताले राष्ट्रवादको आदर्श नारा र अर्तिउपदेश दिने । बाहिर–बाहिर राष्ट्रवाद, अनि यो महासंकटका बेला भित्रभित्रै सुविधा लुछाचुँडी र सत्ता भागबण्डा जिन्दावाद । जनता भने अप्ठेरा र कष्टका बीच दैनिक जीवन बाँच्ने समस्यामै छटपटाइरहेका छन् ।

यो सब देखेर पनि म राष्ट्रप्रेमी बुद्धीजीवी, म जाँगरिलो युवा र म जिम्मेवार नागरिकचाहिँ केही गर्न नसक्ने, बरु त्यो बेइमान नक्कली राष्ट्रवादको स्वरमा स्वर मिलाएर ठूलो खोकी गर्नुपर्ने ।
छीः ! म आफैलाई लज्जाको अनुभव हुन्छ ।
अनि भित्री रुपमा म आफैलाई निरीह पाउँछु र हीनताबोध हुन्छ । यी जेजस्ता अनुभव भित्रभित्रै भइरहेको भए पनि बाहिर–बाहिर भने ठाडो शीर गर्दै सबै बन्धुबान्धव तथा मित्रजनप्रति तिहारको शुभकामना व्यक्त गर्नु आफ्नो कर्तव्य ठान्दछु । अतः सबै बन्धुबान्धव तथा मित्रजनलाई ठाडो शीर गर्दै शुभ दीपावलीको शुभकामना व्यक्त गर्दछु ।
फेसबुकबाट
तस्बिर : कृष्णबहादुर तामाङ

कोई टिप्पणी नहीं: