बुधवार, 11 नवंबर 2015

सुवास नेम्वाङ सहितको टोली लिएर ओली पाथिभरामा १

२५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली हिन्दु र किरात धर्मका साझा देवी र गुरुको दर्शनका लागि उच्च पदस्थहरुको टोली सहित सुदूरपूर्वी पहाडी जिल्लातर्फ लागेका छन् । ओली केहीबेरअघि मात्र ताप्लेजुङमा रहेको प्रसिद्ध पाथिभरा देवीको दर्शनका लागि पाथिभरा पुगेका थिए । नेपाली सेनाको हेलिकोप्टरमा गएका ओलीलाई स्थानीय र पुजारीले स्वागत गरेका छन् ।
ओलीसँगै पूर्व सभामुख सुवास नेम्वाङ, कानुन तथा न्याय मन्त्री अग्नि खरेल र प्रधान सेनपाति राजेन्द्र क्षेत्री पनि पाथिभरा पुगेको पत्रकार रविन भट्टराईले जानकारी दिए । पाथिभरा देवी हिन्दु र किरात धर्माबलम्बीको साझा मन्दिर मानिन्छ । यो समुद्री सतहबाट १२ हजार ४ सय ४८ फिट उचाईमा रहेको प्राचिन र प्रसिद्ध शक्तिपीठ मानिन्छ । ओली र नेम्वाङ बुधबारै किरात धर्म गुरु फाल्गुणानन्द लिङ्देनको १३१ औं जन्मजयन्ती समारोहमा भाग लिन पाँचथरको रविमा जाने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । ओली र नेम्वाङ दुवैजना किरात धर्मगुरु फाल्गुणानन्दका अनुयायी मानिन्छन् । फाल्गुणानन्दका चेला आत्मानन्द लिङदेनको आशिर्वाद लिएर ओली र नेम्वाङ गत संविधानसभा निर्वाचनमा होमिएका थिए ।

झापा क्षेत्र नम्बर ७ र इलाम क्षेत्र नम्बर २ मा किरात धर्म गुरुका अनुयायीहरुको संगठित समूह छ । गुरुको इशारामा उनीहरुले मतदान गर्छन् । झापा ७ बाट ओली बिजय भएका छन् भने इलाम २ बाट नेम्वाङ बिजयी भएका हुन् ।

कोई टिप्पणी नहीं: