बुधवार, 27 जुलाई 2016

बागलुङको पहिरोमा मृतकको संख्या ६ पुग्यो

बाघलुंग, श्रावण १२ - अविरल बर्षाले छुट्टाछुट्टै स्थानमा मंगलबार घर भत्किदाँ पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । एकै घरका ३ जना सहित ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा दर्लिङ ३ की ४१ बर्षीया देवी बुढामगर, उनकी छोरी १८ वर्षीया यमुना र ९ वर्षीया छोरा सन्दिप रहेका छन् । त्यसै गरी दर्लिङ ९ का ७८ वर्षीया डेकबहादुर पुनमगर, राजकुत ७ की ८ वर्षीया बालिका दुजी तामाङ र उनकी दिदी पर्ने २२ वर्षीया डिकी तामाङको मृत्यु भएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए । अन्यको मंगलबार नै र देवी र उनका छोरा सन्दिपको बुधबार शव फेला परेको उनले बताए ।
मृतक बालिकाकी आमा सुशिला पहिरोले च्यापिएर गम्भिर घाइते छिन् । ८ महिनाको गर्भवती समेत रहेकी घाईते सुशिलाको बुर्तिबाङ प्राथमिक उपचार केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारको लागि सेनाको हेलिकप्टरबाट बुधबार शिक्षण अस्पताल काठमाडौं पठाईएको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए ।
पहिरोले मध्य पहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्व गरेपछि पहिरो प्रभावित क्षेत्रहरु दर्लिङ, राजकुत, अधिकारी चौर, बुर्तिबाङ, भिमगोठे र ग्वालीचौर लगायतका पहिरो पिडित संकटमा रहेको प्रजिअ पाण्डेले बताए । तत्कालको लागि बुधबार सेनाको हेलिकप्टरमार्फत ५४ थान त्रिपाल, ४ बोरा चाउचाउ, चिउरा र विस्कुट लगायतको खाद्यान्न पठाएर उद्वार गरिएको प्रजिअ पाण्डेले जानकारी दिए ।

जिल्ला स्थित दैवीप्रकोप उद्वार समितिबाट प्रति मृतक परिवार ४० हजार रुपैंयाँ र पहिरोमा परेको प्रति घरलाई ५ हजार रुपैंयाँ दिने निर्णय गरि सकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रकोपको समयमा संयमित भएर सुरक्षित स्थानमा बस्न र तत्काल प्रहरीलाई जानकारी गराउन सबैलाई भनिएको उनले बताए । 

कोई टिप्पणी नहीं: