बुधवार, 16 दिसंबर 2015

सीएनएन हिरो म्यागी, पत्रकारसित नेपालीमा खरर!

१ पुस, काठमाडौं । ‘सबैलाई नमस्ते है’, सिएनएन हिरो घोषित अमेरिकी युवती म्यागी डोयनले पत्रकारलाई नेपालीमा यसरी सम्वोधन गरिन्-‘यहाँ आउनुभएको पत्रिकाहरुलाई धेरै धन्यवाद दिन मन लाग्छ ।’ सीएनएन विजेताको पुरस्कार थापेर भर्खरै नेपाल फर्केकी म्यागीले बुधबार आयोजित पत्रकार सम्मेलनमा आधा नेपाली र आधा अंग्रेजीमा बोलिन् । उनको नेपाली उच्चारण सफा थियो । ‘हामी हिजो आयौं, यहाँ आएर धेरै खुशी लागेको छ’ प्रफुल्लित मुद्रामा म्यागीले भनिन्-‘यो नेपालको अवार्ड हो, हाम्रो छोराछोरीले पाएको अवार्ड हो ।
CNN Hero Maggie Doyne (2)नेपाल मेरो घर हो भन्न मन लाग्छ ।’ आफ्नो जीवनको एक मात्र उद्देश्य धेरैभन्दा धेरै अनाथ र असहाय बालबालिका हुर्काएर सक्षम नागरिक बनाउनु रहेको उनले बताइन् । विवाहको विषयमा सोधिएको प्रश्नमा म्यागीले आफ्नो अझै उमेर बितिनसकेको प्रतिक्रिया दिइन् । ‘अहिले त म भर्खरकी छु, विवाहको विषयमा केहि योजना नै बनाएको छैन,’ २९ वषिर्य म्यागीले भनिन् । नेपालीसित विहे गर्ने कि अमेरिकीसित ? भन्ने अनलाइनखबरको प्रश्नमा उनले केहि भन्न नसक्ने बताइन् । ‘अहिले केहि भन्न सक्दिन । मेरो सबै ध्यान केटाकेटी हुर्काउनमा केन्द्रित छ ।’ ‘तर उमेर त भयो नी ? परिवारबाट दबाव आएको छैन ?’ उनको जवाफ थियो-‘हाम्रो कल्चरमा त ढिलै विहे गर्ने चलन छ । परिवारले मेरो निर्णयलाई सँधै साथ दिनुहुन्छ ।’ म्यागीको परिवारमा बुवा आमा र दिदी वहिनी छन् । बुवा शिक्षक हुन् भने आमा नर्स हुन् ।
सबैजना अमेरिकामै बस्छन् । नेपालमा जीवन बिताउने आफ्नो निर्णयमा परिवारको कुनै आपत्ति नरहेको उनी बताउछिन् । ‘उहाँहरु मलाई भेट्न बारम्बार नेपालमा आउनुहुन्छ’ उनले भनिन्, ‘म पनि फुर्सदमा कहिले काहीँ जान्छु । परिवारको न्यास्रो छैन, किनभने नेपालमा मेरो आफ्नै परिवार छ, छोराछोरी छन् ।’ म्यागीले बारम्बार नेपाललाई आफ्नो घरको संज्ञा दिएकी थिइन् । नेपालका बालबालिकाहरुको अवस्था सुधार्नका लागि सबैसित हातेमालो गर्ने इच्छा उनले व्यक्त गरिन् । अमेरिकाबाट ११ वर्ष अघि भारत आएकी म्यागीले ऋषिकेसमा रहेको बाल आश्रममा स्वयम्सेवा गर्ने क्रममा नेपाली बालबालिकाहरुलाई भेटेकी थिइन् । सोहि संस्थानमा कार्यरत टोपबहादुर मल्ललाई उनले नेपालका बालबालिकालाई किन भारतमा ल्याएर राखेको भनेर सोधिन् ।
 मल्लले नेपालको मध्यपश्चिममा बालबालिकाको अवस्था दयनीय रहेको भन्दै नेपाल घुम्न जान प्रस्ताव राखे र उनी तत्कालै तयार भइन् । नेपाल आएर मध्यपश्चिमका विभिन्न जिल्लाहरु घुम्दा बालबालिकाको अवस्था साँच्चिकै चिन्ताजनक पाएपछि यतै बसेर काम गर्ने निधतो गरेको म्यागीले बताइन् । ‘हरेक बच्चाले आफ्नो परिवारमा र आफ्नो वावुआमासितै बसेर हुर्किन पाउनुपर्छ’ उनले भनिन्-‘जसका बाबुआमा छैनन्, उनीहरुलाई बाबुआमाको जस्तै माया दिन म हरसम्भव कोशिस गर्छु ।’ २०६४ सालमा दर्ता भएको कोपिला भ्याली समाजमा म्यागीले सहकार्य गर्दै आएकी छिन् । उक्त संस्थाले हाल ५१ जना बच्चाहरुलाई पालनपोषण गरिरहेको छ भने संस्थाले खोलेको स्कुलमा ४ सय बालबालिकाले निशुल्क अध्ययन गरिररहेका छन् ।
 ‘मेरो सबैभन्दा सानो बच्चा १८ महिनाको छ । म सबै बच्चाहरुलाई सक्षम नागरिक बनाउन चाहन्छु, चाहे डाक्टर, इन्जिनीयर, वा नेता किन नहोस’ म्यागीले भनिन् । पुरस्कारको रकमले स्कुल बनाउने सिएनएन हिरो घोषित भएर म्यागीले एक हजार डलर पुरस्कार र १० हजार डलर नगद प्रोत्साहनस्वरुप पाएकी छिन् । आफूले जितेको रकमले बालबालिकाहरुका लागि सुर्खेतमा भूकम्पप्रतिरोधी क्याम्पस भवन उनले घोषणा गरिन् । 

कोई टिप्पणी नहीं: