बुधवार, 16 दिसंबर 2015

प्रहरीले खोस्न नसकेको कुपन नं २१३ !

अरुण बराल १ पुस, काठमाडौं । भूकम्पपीडितका नाममा आफ्नी छोरी र नातेदारलाई विदेश घुमाउने व्यक्ति गृहमन्त्री बनेको देशमा उनी मातहतको प्रहरी प्रशासनले चाहिँ जनताको काम कसरी गरिरहेको होला ? ग्यासका प्रशस्तै बुलेटहरु उपत्यकामा भित्रिँदा पनि उपत्यकाबासीले किन एउटा सिलिण्डरसम्म पाउन सकेका छैनन् ?
Gas Pidit 1ग्यास डिपोमा प्रहरीहरु जनताको सुविधाका लागि परिचालित भइरहेका छन् कि गुण्डागर्दी र कालोबजारीका लागि ? नाकाबन्दीको मारमा परेका पीडित जनतामाथि प्रहरी प्रशासनको व्यवहार ‘मुस्कान’सहितको छ या ‘लात्ती’सहितको ? प्रहरीको कुटाइपछि कृष्णप्रसाद देवकोटाले एक सिलिण्डर ग्यास पाएका छन् बुधबार बिहानै सात बजे चाबहिलमा एक भद्र भलादमी खर्ल्याङ-खर्ल्याङ खोच्याउँदै हिँडिरहेको अवस्थामा भेटिए । उनी रहेछन्- अधिवक्ता कृष्णप्रसाद देवकोटा । खुट्टो खोच्याउँदै हिँडे पनि उनी अपाङ्गता भएका व्यक्ति चाँहि होइनन् । उनी हुन्- ग्यासको लाइनमा प्रहरीको पिटाइ खाएर सात घण्टा गौशाला प्रहरी हिरासतमा थुनिएका गणतन्त्र नेपालका निरीह नागरिक । प्रहरीको बुट प्रहारबाट दुखेको देवकोटाको देब्रे तिघ्रो सिनामंगल अस्पतालको सिफारिसअनुसार ‘ब्रुसेट’ खाए पनि जाति भएको छैन ।


चावहिलस्थित एउटा छाप्रोमा दुई सन्तान र पत्नीका साथमा बस्दै आएका गोर्खाली नागरिक देवकोटाले एउटा ग्यास सिलिण्डरका लागि के कस्तो संघर्ष गरेका रहेछन् भन्ने थाहा पाउन हामीलाई मन लाग्यो । देवकोटाले ग्यासका लागि सात रात सडकमा बिताएका रहेछन् ‘महिना पहिले पालो गरेर ६/७ रात सडकमै बिताइयो, उनले भने, ‘लाइनमा बसेपछि एक महिनाअघि एउटा कुपन पाइयो र हिजो प्रहरीको कुटाइ खाइयो ।’ एक महिना पहिले हात लागेको कुपन मंगलबार गौशाला प्रहरीले उनको हातबाट खोस्ने असफल प्रयास गर्‍यो र उनी थुनिए । उनी भन्छन्- ‘प्रहरीले मेरो कुपन खोस्न खोजेको थियो तर (पेन्टभित्र गोप्य ठाउँतिर देखाउँदै) यहाँ, भित्र हालेर जोगाएँ ।’ प्रहरी कार्यालयबाट ग्यास डिपोमा खटिने प्रहरीहरुले यसैगरी सर्वसाधारणबाट ग्यास लुट्ने र आफूले लाने गरेको रहस्यसमेत यो प्रकरणबाट खुलेको छ । प्रहरीले नै यस्तो धन्दा गरेपछि उपत्यकाबासीले कसरी पाउन् त ग्यास ? गृहमन्त्री नै त्यस्ता छन्, उनबाट प्रहरीले के संस्कार सिकुन् । मंगलबार बिहान १० बजे चाहहिलको स्तुपानजिकै नेपाल ग्यासको डिपोमा के भएको हो ? प्रहरीको कुटाइ खाएर सात घण्टा थुनिएका अधिवक्ता देवकोटाले आफ्नो तस्वीर चाँहि सार्वजनिक नगरिदिन आग्रह गर्दै यसरी पीडा पोखे – ग्यासको अभावमा देवकोटा परिवारले यही चुल्होमा खाना पकाउँथ्यो । मेरो कुपनको नम्बर २१३ थियो । एक महिनाअघि नै चाबहिलको नेपाल ग्यासको डिपोबाट कुपन लिएको थिएँ । त्योबेलामा ५/७ दिन रात/दिन नै लाइन बसियो । पछि चाबहलिमा जात्रा आयो र लाइन हटाइयो । त्यतिबेला ग्यास आएन भनेर यो कुपन दिएर पठाएका थिए । यो एक महिना अघिकै कुरा हो । वीचमा एक लट ग्यास आइसकेछ । मैले थाहा पाइँन । हिजो (मंगलबार) मैले बल्ल ग्यास आएको थाहा पाएँ । डिपोले म पुग्नुभन्दा अघि नै ३०० नम्बरसम्मको कुपनका लागि ग्यास बाँडिसकेछ । मैले डिपोवालालाई कुपन देखाँए । डिपोवाललले केहीबेर बस्नुस् भने । म बसेँ । पछि मलाई डिपोकी साहुनीले तपाईँको कुपन २१३ हो ? भनेर सोधिन् र मलाई बोलाइन् । म अगाडि बँढे । तर, मलाई प्रहरीले रोक्यो । प्रहरीले उता बस्, तँ अघि नै गइसकेको होइन ? भन्दै फर्कायो । म डिपोवाला साहुनीले बोलाएको ठाउँसम्म पुग्नै पाइँन । लाइनमा बसेकाहरुले मेरो कुपनको नम्बर हेरे । उनीहरुले मलाई तपाईंको लाइनको त वितरण भइसक्यो, लाइन बस्दा पालो आउला नआउला, फेरि एकपटक कुरा गर्न जानुस् भनेर सल्लाह दिए । बाँड्दा बाँड्दै ग्यास नै सकिएला भनेर लाइनमा बसेका धेरैले मलाई सम्झाए । त्यसपछि फेरि म डिपोतर्फ जाँदै थिए । म अगाडि बढ्न लाग्दा इन्स्पेक्टर (अरुणकुमार भण्डारी) ले मुक्याउँदै झ्यापझुप समाते र गाडीमा हाले । त्यहाँ हुलदंगा केही भएको थिएन । मसँग अरु कोही साथी पनि थिएनन् । लाइनमा हुनेले मलाई सर्पोट गरेका थिए । हामी वकिललाई अपशब्द बोल्न आउँदैन । तर, कुरा भने हामी हाक्काहाक्की राख्छौं । इन्स्पेक्टरले जवानहरुलाई ‘यसलाई रामधुलाइ गर् अनि सबक सिका’ भने । त्यसपछि मलाई कुट्दै-कुट्दै लगे । कुट्नेहरुले नेमप्लेट पनि झिकेर मलाई कुट्न थाले । छातीमा टाँसेको नेमप्लेट च्वार्रर पारेर गोजीमा हाल्दा रहेछन्, अनि कुट्दारहेछन् । नत्र म नाम हेर्थेँ । एउटा सइले भने विस्तारै लैजा भनेर संकेत गरे । तर, उनी पनि इन्स्पेक्टरसँग डराएका थिए । पछि मलाई गाडीमा घोप्टो पारेर टाउकोमा जुत्ताले हानेको हान्यै गर्‍यो । मलाई सुरुमा गौशाला प्रहरी कार्यालयमा लगेर बाहिर राखेको थियो, असईले । भित्र मुद्दा शाखाको एउटा कोइराला थरको सइले ‘के भो देवकोटा जी’ भनेर मलाइ भित्र बोलाए । फेरि असइ आयो र तँ किन भित्र जाने भन्यो । यसलाई भित्र हाल्दे भन्यो । मैले कोइरालाजीले बोलाउनुभो र भित्र पसेको भनें । तर, उसले जबरजस्ती मलाई लगेर हिरासतमा थुन्यो । मैले पहिल्यै चिनेका सई कोइरालाले मेरो घरमा फोन गर्दिए । उनले देवकोटाजी एकछिनमा आउनुहुन्छ, तपाई आएर ग्यास लैजानुहोला भनेर फोन गरिदिए । दिउँसो बजेतिर त्यो इन्स्पेक्टर अरुणकुमार भण्डारी आए तर, मलाई भेटेन । मेरो एकजना साथीलाई मलाई बुझेर लैजानुस् भने र मलाई छोडिदिए । बाहिर आएपछि मैले प्रहरीसँग के अपराध गरेँ भनेर सोधेँ । मैले कुपन देखाएँ । मैले मलाई कुट्ने प्रहरीलाई कारवाही गर्ने कि नगर्ने भनें । प्रहरीले मलाई ‘छोड्दिनुस्, उपचार गर्न जाउँ भनेर फकाए । मैले हुन्न भनें । मैले तपाईंहरुसँग गएपछि मेरो रिर्पोट नै आउँदैन भनेँ । उनीहरुले मलाई सरकारी डाक्टरले जाँच्ने हो भनेर गाडीमा हाले । मैले एकपटक डीएसपी साहेबसँग कुरा गर्छु भनेँ । मलाई कुट्ने इन्स्पेक्टर त्यँही यताउता गर्दै थिए, तर मसँग बोलेनन् । डीएसपी सुरेन्द्रप्रसाद मैनाली मसँग शुरुमै जंगिए । उनले ‘तँ कुन हैसियतले मसँग कुरा गर्न आएको’ भन्दै थर्काए । म छुट्ने भए पनि मजस्तै अरु मानिसहरु अनाहकमा नकुटिउन् भन्ने मेरो सोच थियो । ती कुट्ने प्रहरीलाई डीएसपीले कम्तिमा केही भनेर हप्काए भने म जसरी अरु कुँटिदैनन् भन्ने मलाई लागेको थियो । प्रहरीको काम पक्रेर ल्याउने हो र काुननबमोजिम उभ्याइदिने हो । जनतालाई कुट्न त प्रहरी राख्ने हो र ? पक्रेर गाडीमै हालेपछि पनि अन्धाधुन्ध कुट्ने कहाँको न्याय हो ? यिनीहरुले वकिललाई छोड्दैनन् भने सर्वसाधारणलाई के गर्लान् भन्ने मलाई लाग्यो । यही कारणले मैले डीएसपीसँग आफ्नो गुनासो पोख्न खोजेको थिएँ । राणा शासनमा त बरु सुनुवाइ हुन्थ्यो । चन्द्रसमशेरले पनि एउटा दासलाई म जबजस्ती थुनामा परेँ भन्दा कमसेकम उसको गुप्ताङग र काखीको रौं हेरेर त निसाफ गर्थे । अहिले त केही पनि हेरिँदैन तर, डीएसपीलाई नमस्कार गर्ने बित्तिकै उनी मसँग खनिए । तैंले भन्दैमा प्रहरीलाई कारवाही गर्नुपर्ने ? यसो भन्दै उनले ‘यसलाई लगेर थुन्दे, अब सार्वजनिक मुद्दा चलाउनुपर्छ’ भनेर मलाई फेरि थुन्न पठाए । फेरि हिरासतमै पुगियो । बेलुका ५ बजेसम्म कुनै सुनुवाइ गरेनन् । ४/५ घण्टा चिसोमै राखे । पछि फेरि बीचमा कुराकानी गर्न डीएसपी मैनालीले झिकाए । डीएसपीले ‘तँ वकिल लगाउने ? पत्रकार लगाउने ? मानवअधिकार लगाउने ?’ भन्दै थर्काए । तेरो त मिडियामा पनि कुरा आएछ, दुनियाँभर फेसबुकमा हाल्ने ? तेरो मिडियाले के गर्छ ? मानवअधिकारले के गर्छ ? वकिलले के गर्छ ? हेरौं त । डीएसपीले यस्तो भने । डीएसपी मैनालीले फेरि भने- ‘तँलाईं कानुनबमोजिम लान्छु, म्याद थपाएर २५ दिन राख्छु, पुलिसलाई हात हालेको भनेर कोच्छु ।’ मैले ‘कहाँ पुलिसलाई हात हाँले’ भन्नासाथ उनी झन उग्र भए र भने- ‘बढी कुरा गर्ने ? यसलाई थुन्दे ।’ त्यसपछि फेरि लगेर हिरासतमा थुन्दिए । पछि मैले एकजना प्रहरीको सहयोग लिएर एआइजी बीरेन्द्रबाबु श्रेष्ठलाई फोन गरेँ । मैले मेरो सबै कुरा सुनाएँ । उहाँले नआत्तिन भन्नुभयो । केहीबेरमा फेरि डीएसपीले बोलाए । डीएसपपी मैनालीले मिडियामा, यताउता, वकिलमा, मानवअधिकारमा गइस् भने फेरि ल्याएर सार्वजनिक मुद्दा हाल्छु भने । ‘तपाइर्ं राम्रो मान्छे हुनुहुँदो रहेछ, मैले बुँझे भनेर एकाएक नरम भए । हामी अब ‘ट्रस्ट’ गरेर अगाडि बढ्नुपर्छ भनेर फकाउन खोजे । म वकिल लब मैनालीको दाइ हो भने । तपाईंले मिडियाबाजी गर्नुभो पनि भने । हामीसँग राम्रो कुरा गर्नुस् न, अन्त जानै पर्दै भने । उनी मलाई अझ फकाउन खोज्दै थिए । उनले म त्यो कुट्ने प्रहरीलाई पनि कारवाही गर्छु भने । मैले ‘तपाईले कुनै कुरै सूून्नुभएन’ मात्रै के भनेको थिएँ, ‘तँ बढ्ता कुरा नगर्, मेरो कुरा सुन्, झन् छोडिदिन लागिरा’छु’ भन्दै फेरि जंगिए । पछि मिडियामा नजानुस्, तपाई-हामी ‘ट्रष्ट’ गरेर अगाडि बढौं, तपाईलाई कुट्नेलाई म कारवाही गर्छु भनेर मेरो फोन नम्बर लिए र उनको पनि दिए । मैले कुट्ने प्रहरीलाई कारवाही भयो कि भएन भनेर फेरि आउँछु भनें । मलाई केएमसीमा प्रहरीकै भ्यानमा राखेर लगेर जँचाए । घुच्चुकमा निस्केको टुटुल्को स्प्रेस गरेर समान्य बनाए । डाक्टरले जिउ दुखेको निको पार्न दुई दिन ब्रुसेट खानु भनेर लेखिदिएका छन् । खुट्टाको एक्स रे गरौं भन्दा प्रहरीले पर्दैन भन्दै गराउन मानेन । लुगा बाहिरबाट बुटले थिचेको हुनाले तिघ्राको मासु दुखिरहेको छ । च्यातिएको लुगा घरैमा छ ।
उपभोक्ताको ग्यास प्रहरीले लाँदारहेछन् 
गौशाला प्रहरी वृत्तमा हिजै ४/५ वटा सिलिन्डर पुगेको छ । म कारागारको डण्डीबाट हेरिरहेको छु, भटाभट प्रहरीको कोठामा ४/५ वटा ग्यास पुगेको छ । कुन कोठामा लगेको भनेर म त्यहाँ गएर देखाउन सक्छु । हिजै लगेको हो त्यो ग्यास । उनीहरुले चार/पाँचवटा लगेको मेरो आँखाले नै देखेको थिएँ । ती ग्यास न कुपनका हुन् न लाइनका हुन् । हामी कुपन लिएका र पाँच/सात दिनदेखि लाइनमा बसेकालाई चाहिँ साहुसँग भेटघाट गर्न प्रतिवन्ध लगाउने, अनि उनीहरु चाहिँ लाइन नै नबसिकन लाने ? मैले पहिला पनि देखेको थिएँ, प्रहरीचाहिँ त्यहाँ किन जाँदा रहेछन् भने ग्यास हात लगाउन । उनीहरु चौकीलाई र घरलाई ग्यास लिन त्यहाँ जाँदा रहेछन्, जनताको सुरक्षाको निम्ति होइन । मैले अहिलेसम्म देखेअनुसार प्रहरी जनताको हितका लागि गएको पाइँन । लाइनमा बसेका हामीहरुबीच केही विवाद नै छैन । किनभने लाइनबाट कसैले विवाद गर्‍यो भने त हामी नै उजुरी गर्छौं नि प्रहरीलाई । ल सर, यसले लाइन मिच्यो भन्छौ नि त । तर, उपभोक्ताले कम्प्लेन नै नगरी प्रहरीले एकैचोटि हस्तक्षेप गर्न मिल्छ ? हिजो भएको पनि त्यही हो । अन्यत्रका घटनाहरु बुझ्नुभयो भने पनि त्यही हो । प्रहरी किन ग्यास डिपोमा जाँदा रहेछन् भन्दाखेरि बिनाकारण हस्तक्षेप गर्ने अनि साहुबाट आफूलाई कतिवटा ग्यास हात लगाउन पाइन्छ, हात लगाउने । आफ्नो नाता गोता छ भने भित्रभित्रै साहुलाई भन्ने र उसलाई ग्यास दिएर पठाउने । नचिनेको मान्छे छ भने त्यसलाई प्रतिवन्ध लगाउने । मेरो त कुपन नै खोस्न खोजेका थिए उनीहरुले । साहुलाई चिट देखाउन जाँदा सिपाहीले खोसेर च्यात्न खोज्यो । तर, मैले चिट खल्तीमा हालेँ । त्यसपछि न मलाई प्रहरीले समातेर चौकीमा थुनेको हो । पुलिसले मेरो टोकन गायव गर्छन् कि भनेर यहाँ….भित्र लुकाएँ । प्रहरीले लुट्न खोजेको त टोकन नै हो नि वास्तवमा । देवकोटा परिवार बस्दै आएको चाबहिलस्थित टहरो कसैको कुपन हराउँछ, कोही कुपन लिएपछि लाइनमा आउँछन्, यस्तो अवस्थामा साहुसँग वार्ता गर्न त पाइयो नि । तर, प्रहरीले त्यो भन्न पनि नदिने । अनि त्यो ग्यास आफैं लाने ।
‘म शहीदको दाजु हुँ’ 
मेरो घर गोरखा हो । म शहीद परिवारको मान्छे हुँ । मेरो भाइ ईश्वर देवकोटा प्रहरीमा थिए । गोरखाको ताक्लुकोटमा २३ जना मरेको घटनामा उनले पनि ज्यान गुमाए । अरु मान्छे भाग्न सफल भए । उनी सञ्चारको मान्छे । तर, स्थानीय पनि कुरा गर्छन्, उनले अरुलाई बचाउन आफ्नो ज्यान दिए । उनले गाग्री बम बिष्फोट गरेर बाटो खोल्दिएका थिए अरे । मेरो ल फर्म छ डिल्ली बजारमा । देवकोटा ल फर्म । मैले बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको फर्ममा सहयोगीका रुपमा काम गर्दै अनि पढ्दै काम थालेको हुँ । मैले वकालत पेशा थालेको २२/२३ वर्ष भयो । ०५० सालदेखि म यो क्षेत्रमा छु । यो बीचमा प्रहरीले कानुनको सम्मान गरेको मैले अहिलेसम्म देखेको छैन । केही प्रहरी राम्रा पनि छन् । तर, नराम्राहरुले तिनलाई पनि खाइसकेका छन् । राम्राको निर्णय चल्दैन । त्यहाँ नराम्रो बाहुल्य छ । नराम्राले मानवधिकारको सम्मान, कानुनको सम्मान, पत्रकारको सम्मान, वकिल र सर्वसाधारणको सम्मान गर्नै जान्दैनन् । उनीहरुले अदालतले नठहराएसम्म निर्दोष हुन् भन्ने बोर्ड राख्छन् तर, कसैलाई लैजानेवित्तिकै मुझरिम (अपराधी) को व्यवहार गर्न थालिहाल्छन् । हजो मलाई पनि डीएसपीले तँ मेरा लागि ‘मुझरिम’ होस् भनेका थिए । ‘तँ अपराधी कसँग किन कुरा गर्न आको’ भनेर थर्काए ।
एकपटक एआइजी वीरेन्द्रबाबुलाई भेट्छु 
अब म एकपटक एआइजी साहेबकहाँ जान्छु । एउटा नजिकको दाइको हिसाबले के गरौं भनेर एआइजी साबकोमा जान लागेको हुँ । उहाँ (वीरेन्द्रबाबु) मेरो आदरणीय हुनुहुन्छ, किनभने उहाँले अहिलेसम्म नराम्रो काम गरेको काहीँ पनि आएको छैन । राम्रो छवि भएका कारणले मैले उहाँलाई सम्मान गर्छु । उहाँको सल्लाह र साथीहरुको सल्लाह अनुसार गर्छु । किनभने आज मलाई पर्‍यो । भोलि सम्पूर्ण जनतालाई पर्छ । म कानून व्यवसायी हुँ भन्दाभन्दै त यस्तो ज्यादती हुन्छ भने यिनीहरुले अरु कसैलाई बाँकी राख्दैनन् । केही पनि आरोप नभएकालाई सार्वजानिक मुद्दा लगाइदिनु प्रहरीको हतियार हो । सार्वजानिक अपराधलाई उनीहरुले आफ्नो तजबिजी अधिकार ठान्छन् । उनीहरुले नै कुट्ने कुट्ने अनि न्याय निसाफ माग्यो भने सार्वजानिक मुद्दा हाल्दिने । हरेक मुद्दामा यस्तै गरेको मैले पनि देखिरहेको थिएँ । मलाई पनि यही पर्‍यो । राणा शासनमा त बरु सुनुवाइ हुन्थ्यो । चन्द्रसमशेरले पनि एउटा दासलाई म जबजस्ती थुनामा परेँ भन्दा कमसेकम उसको गुप्ताङग र काखीको रौं हेरेर त निसाफ गर्थे । अहिले त केही पनि हेरिँदैन । प्रहरी पहिले नै आवेगमा आउने होइन । एउटा वृत्तमा कसलाई कस्तो मुद्दा लगाउने भनेर जिम्मा लिएका डीएसपीले त्यस्तो व्यवहार देखाउन मिल्छ त ? म कानुन व्यवसायी हुँ भन्दाभन्दै पनि उनी मेरो कुनै सुन्न तयार थिएनन् । प्रहरीले फिल्डमा बुझ्दै नबुझी व्यवहार गर्ने संस्कार छ । पहिला घटनास्थलमा के भएको भनेर बुझेर व्यवहार गर्नुपर्छ । त्यहाँ मान्छेहरु हुन्छन् । उनीहरुलाई बुझ्न सकिन्छ । के कुरा हुँदैछ, कस्तो मान्छे हो, कस्तो व्यवहार भएको छ, त्यहाँ भएका अरु मान्छेसँग सोध्न सकिन्छ । जस्तो-त्यो ग्यासको लाइनमा सयौं थिए । कि उनीहरुले कम्प्लेन गरेको भए मलाई लैजानु जायज हुन्थ्यो । तर, कसैको कम्प्लेन छैन, गुनासो छैन, उजुर छैन । प्रहरीले आफु अगाडि बसेर हस्तक्षेप किन गर्ने ? साहु र ग्राहकबीच कुराकानी हुन लाग्दा बीचमा आएर हस्तक्षेप गर्ने प्रहरीको काम हैन नि । डिपोकी साहुनीलेसमेत डीएसपीलाई फोन गरेर त्यो भाइको केही गल्ती छैन भनेकी थिइन् अरे । साहुनीसँग तपाईहरुले पनि गएर सोध्नुभए हुन्छ, मैले केही गरेकै छैन । साहुनीले नै बोलाएर म कुरा गर्न जाँदा-जाँदै मलाई प्रहरीले हस्तक्षेप गरेको हो ।  

कोई टिप्पणी नहीं: