सोमवार, 3 अगस्त 2015

तराईमा बढ्दो अपराध

काठमाडौ, श्रावण १८ - मध्य तथा पश्चिम तराईका जिल्लामा आपराधिक घटना बढ्दो छ । कहिले बोक्सी आरोपमा महिला मारिन्छन् । कहिले देउतालाई चढाउने नाममा बालकको निर्मम हत्या गरिन्छ । अपराधको अवस्थाबारे हेटौंडाबाट प्रताप विष्ट, रौतहटबाट शिव पुरी, नवलपरासीबाट बेचु गौंड, पर्साबाट शंकर आचार्य, कपिलवस्तुबाट मनोज पौडेल लेख्छन् :- करिब १ वर्षअघि मकवानपुरको हाडीखोला ६ मा ५६ वर्षीय बाबुले १३ वर्षीया झड्केली छोरीलाई जबरजस्ती करणी गरे । कक्षा ७ मा पढ्ने छोरीलाई उनले कोठामा डाकेर बारम्बार करणी गरे । मानसिक तनावमा परेपछि उनले पढाइ छाडिन् । कुरा खुल्यो । छोरीमाथि अपराध गर्ने बाबु अहिले भीमफेदी कारागारमा थुनामा छन् । जिल्ला अदालतले उनलाई १० वर्ष कैद तोकेको छ । स्थानीय प्रदीप चेपाङले चकलेटले लोभ्याएर मनहरी ७ की ६ वर्षीयलाई ९ महिनाअघि करणी गरे ।
अदालतले उनलाई बलात्कारी ठहर गर्दै ५ वर्ष कैद तोक्यो । ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश गर्‍यो । प्रहरीका अनुसार जिल्लामा गत आर्थिक वर्ष (आव) २०७१/०७२ मा २५ बलात्कारका घटना भए । ६ बलात्कार प्रयास भए । तीमध्ये १९ बालिका आफन्त र छिमेकीबाट जबरजस्तीको सिकार बनेका थिए । अघिल्लो आवमा १८ घटना भएका थिए । घरेलु हिंसाका कारणब जिल्लामा २ महिलाले ज्यान गुमाए । पतिको कुटाइबाट बसामाडी २ की ४४ वर्षीया मनमाया थोकरले ज्यान गुमाइन् ।


मार्खु ३ की ४० वर्षीया हरिमाया भोम्जनको पतिले खुकुरी प्रहार गरी हत्या गरेका थिए । गत आवमा आपसी झगडा र लुटपाट क्रममा ७ जनाको मृत्यु भयो । भने उक्त अवधिमा हातहतियार तथा खरखजाना मुद्दा १३ वटा थिए ।
आव ०७१/०७२ मा प्रहरीले विभिन्न आपराधिक मुद्दामा संलग्न आरोपमा प्रहरीले ५ सय ५३ लाई पक्राउ गरेको थियो । अघिल्लो आवमा ४ सय २८ पक्राउ परेका थिए । जिल्लामा आपराधिक घटना वृद्धि हुँदै गएकाले संलग्नलाई पक्राउ गर्ने क्रम वृद्धि भएको छ । ‘आपराधिक घटना वृद्धिसँगसँगै पक्राउ पर्ने अपराधीको संख्या बढेको छ,’ प्रहरी नायब उपरीक्षक शिशु शर्माले बताए ।

८ बलात्कृत
रौतहटमा ४ महिनामा ८ बलात्कृत भएका छन् । तिनमा ३ दलित बालिका छन् । जबरजस्तीमा संलग्न आरोपी फरार छन् । शुक्रबार पतौरा ६ मा बलात्कृत १० वर्षीया बालिकाको अवस्था चिन्ताजनक छ । उनको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ । स्थानीय १७ वर्षीय राधेश्याम पटेलले जबरजस्ती गर्दा घाइते भएकी थिइन् । आरोपी फरार छन् । खेतमा गएकी बालिकालाई करणी गरेर उनी भागेका थिए । त्यस्तै ३ दिनअघि विश्रामपुर ९ बलेरीकी बालिकालाई १८ वर्षीय मनोज रामले जबरजस्ती गरेर फरार भए । घटना गाउँमा मिलापत्र गराउन केही स्थानीयले प्रयास गरेका थिए । पीडितले नमानेपछि जाहेरी दर्ता भएको हो । उखुबारीमा शौच गर्न गएकी उनलाई मुख थुनेर रामले जबरजस्ती गरेको पीडित अभिभावकले प्रहरी समक्ष बताए । एक महिनाअघि कटहरिया ५ का भुईला साह, अजय साह मिलेर स्थानीय बालिकालाई करणी गरेका थिए । दुवै पक्राउ परेका थिए । जिल्ला अदालतले दुवैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।
‘कटहरिया र देबाहीमा भएको बलात्कारको घटनाका आरोपित पक्राउ परेका छन्,’ प्रहरी नायब उपरीक्षक सुधीर शाहीले भने, ‘घटना भएपछि भरसक लुकाउने र गाउँमा मिलाउने प्रयासले पीडक उम्कने समस्या छ ।’ उनका अनुसार यस्ता घटनामा संलग्न ८ आरोपी फरार छन् । महिला अधिकारकर्मी देवकी नेपालले जिल्लामा बलात्कारका घटना बढेको बताइन् । ‘अचम्मै हुन लाग्यो,’ उनले भनिन्, ‘बालिकालाई कसरी बचाउन सकिन्छ ।’

‘व्यक्ति’ हत्या
नवलपरासीको कुडिया ४ मा गत साउन ५ गते देउतालाई चढाउने नाममा १० वर्षीय बालक सोनु भनिने जीवन कोहारको निर्मम हत्या भयो । स्थानीय शिवशरण कोहारका जेठा छोराको छिमेकी कोदाई हरिजनले आफ्नो छोरा बचाउन हत्या गरेको बयान दिएका छन् । उक्त हत्या अभियोगमा प्रहरीले ११ जनामाथि अनुसन्धान गरिरहेको छ । अनुसन्धानपछि संलग्न अरोपितलाई कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले जनाए ।
उनका अनुसार असार ३० गते देवगावमा २ समूहबीच झगडा हुँदा १ को ज्यान गयो । भीडमा ढुंगामुढा हुँदा ज्यान गएको थियो । उक्त घटनामा संलग्न आरोपमा प्रहरीले १९ लाई पक्राउ गरेर अनुसन्धानपछि चलाउने तयारी गरेको छ । त्यसपछि जिल्लाकै आकाश गुरुङको हत्यामा संलग्न अभियोगमा १० लाई मुद्दा चलाइएको छ । विगतभन्दा संगठित अपराध बढेको प्रहरी निरिक्षक सुवास गैरेले बताए । उनले भने, ‘संगठित अपराधले अनुसन्धान र कारबाही चलाउन कठिनाइ बढेको छ ।’ आर्थिक लेनदेन, अन्धविश्वास, प्रतिशोध समस्याले यस्ता घटना बढेको उनले बताए । जिल्ला प्रहरीको मुद्दा साखाको तथ्यांकअनुसार ३ वर्षयता अपराध वृद्धि भएको छ । उनका अनुसार २०६९/०७० मा ७ र २०७०/०७१ मा ११ को हत्या भएको थियो ।

सार्वजनिक घटे
प्रहरी तथ्यांकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष पर्सामा अपराध कम भएको देखाएको छ । गत वर्ष फौजदारी अपराध बढेका छन् । सार्वजनिक घटेका छन् । जिल्लामा अघिल्लो आर्थिक वर्ष कर्तव्य ज्यानका ९ घटना भएका थिए । गत आवमा १६ भए । अघिल्लो वर्ष ज्यान मार्ने उद्योगका १३ घटना भएकामा गत वर्ष २१ भए । अघिल्लो आवमा भवितव्य ज्यानका १९ घटना भएका थिए । गत वर्ष २७ भए ।
अघिल्लो वर्ष जबरजस्ती करणीका १६ घटना भएकामा गत आवमा १०, अघिल्लो आवमा जबरजस्ती करणी उद्योगका ४ घटना भएकामा गत आवमा १० घटना भएका थिए । अघिल्लो आवमा अपहरण २ भएकामा गत आवमा ३, अघिल्लो आवमा डाका अपराधका एउटा पनि घटना भएका नभएकामा गत आवमा २ घटना भएका छन् । अघिल्लो आवमा चोरीका १ दर्जन घटना भएकामा गत आवमा १०, अघिल्लो आवमा ठगी/संगठित अपराधका आधा दर्जन घटना भएकामा गत आवमा २ दर्जन, अघिल्लो आवमा नागरिकता अपराधका ३ घटना भएकामा गत आवमा ४ घटना भएका छन् । अघिल्लो आवमा लागू औषध अपराधका १ सय ५४ घटना भएकामा गत आवमा १ सय १५, दुवै आर्थिक वर्षमा खोटाचलन र हातहतियार तथा खरखजाना अपराधका २/२, ९/९ घटना घटेका छन् । अघिल्लो आवमा विस्फोटक पदार्थ र बालविवाहका एउटा पनि घटना भएनन् भने गत आवमा यस्ता १/१ घटना घटेका छन् । अघिल्लो आवमा जुवाका ५ घटना भएकामा गत आवमा ४ घटना भएका छन् । अघिल्लो आवमा ३ सय ३ सार्वजनिक अपराधका घटना भएकामा गत आवमा २ सय ५४ वटा त्यस्ता घटना भएका छन् । प्रहरी उपरीक्षक दिवेश लोहनी विगतमा जुनसुकै अपराधलाई पनि सार्वजनिक अपराधको श्रेणीमा राख्ने परिपाटी तोडेर जसले जुन अपराध गरेको हो उसलाई त्यही अपराधमा मुद्दा चलाउने परिपाटी बसालिएकाले सार्वजनिक अपराध घटेको र अन्य अपराधका घटना बढेको दाबी गर्छन् ।

अपराध वृद्धि
कपिलवस्तुमा आपराधिक घटना ३२ प्रतिशतले वृद्धि भएका छन् । अघिल्लोको तुलनामा गत आवमा १ सय ६ मुद्दा बढी दर्ता भए । आव ०७०/७१ मा ३ सय ३२ भएकामा ०७१/७२ मा ४ सय ३८ मुद्दा दर्ता भए । कर्तव्य ज्यान, जबरजस्ती करणी र मानव बेचबिखनका मुद्दा बढेका छन् । अघिल्लो वर्ष कर्तव्य ज्यानका ९ घटना भएकामा गत वर्ष बढेर १८ पुगे । आत्महत्याका घटना अचाक्ली बढेका छन् । जबरजस्ती मिलापत्र गर्ने प्रवृत्ति निरुत्साहित गर्दा मुद्दा बढेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक विक्रम गुरुङले बताए । त्यस्तै कचहरी बसेर मुद्दा मिलाउने र बिचौलियाको चलखेल घटेका कारण मुद्दाको संख्या बढेको उनको दाबी छ । जिल्लामा सबैभन्दा बढी घटना सोमबार भएका छन् । गत वर्षको असारमा सबैभन्दा बढी ७३ आपराधिक घटना भएको प्रहरीले जनाएको छ ।

कोई टिप्पणी नहीं: