सोमवार, 2 मार्च 2015

बहुमतीय प्रक्रिया खारेज गरिए वार्तामा बस्न तयार : प्रचण्ड

काठमाडौं फाल्गुन १८ : एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूहरू जतिबेला पनि वार्ताका लागि तयार रहेको बताएका छन्। सत्तापक्षले बहुमतीय प्रक्रिया खारेज गरी सहमतिका आधारमा संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गरे आफूहरू वार्तामा बस्न तयार रहेको उनको भनाइ थियो। 'सरकारी रबैया सकारात्मक देखिएको छैन। वातावरण बनाएमा हामी जतिबेला पनि वार्तामा बस्न तयार छौं', दाहालले भने। सत्तापक्षलाई सहमतिका लागि दबाब दिन शनिबार काठमाडौंमा गरिएको शक्ति प्रदर्शनका क्रममा घाइते भएका एमाओवादी पोलिटब्युरो सदस्य गंगा श्रेष्ठलगायतका नेताकार्यकर्ताको स्वास्थ्य अवस्था बुझेपछि आइतबार दाहालले सञ्चारकर्मीलाई त्यस्तो प्रतिक्रिया दिएका हुन्। श्रेष्ठसहितका घाइते भेट्न दाहालसहित एमाओवादीका नेता तीनकुनेस्थित कान्तिपुर अस्पताल पुगेका थिए। नयाँबानेश्वरको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। झडपमा प्रदर्शनकारी र प्रहरी दुवै घाइते भएका थिए।
 जनप्रदर्शनबाट आतंकित भएर सरकारले शान्तिपूर्ण प्रदर्शनमाथि बर्बर आक्रमण गरेको पनि दाहालले बताए। आफूले शुक्रबार नै प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री वामदेव गौतमसँग शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्न आग्रह गरेको पनि दाहालले बताए। 'शान्तिपूर्ण प्रदर्शनमाथि बर्बर ढंगले कायरतापूर्ण रूपमा आक्रमण गरिएको छ। यसको घोर भत्र्सना गर्छु', उनले भने।

कोई टिप्पणी नहीं: