शनिवार, 23 अगस्त 2014

एनसेलद्वारा २० करोड सहयोग

काठमाडौ, भाद्र ७ - निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले बाढीपीडितलाई २० करोड रुपैयाँ सहयोग गरेको छ। कम्पनीले प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा उक्त सहयोग हस्तान्तरण गरेको हो। प्रधानमन्त्री निवासमा शुक्रबार आयोजित कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी निर्देशक एरिम टाइला नलरले सहयोग रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका हुन्।
ncell कार्यक्रममा प्रधानमन्त्रीले संयुक्त लगानीमा स्थापित एनसेलले नेपालका जनता बाढीपहिरो जस्तो प्राकृतिक विपत्तिमा परेका बेला उदार मनले सहयोग गरेर सराहनीय काम गरेकामा प्रशंसा गरेको जारी विज्ञप्तिमा उल्लेख छ। 'केही समययताको अविरल वषर्ाका कारण आएको बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिले हजारौंलाई प्रभावित पारेको समाचारहरूले हामी मर्माहत भएका छौं। हाम्रोतर्फबाट भएको यो सहयोगले नेपाल सरकारलाई यस विपत्तिको घडीमा पीडितहरूको उद्धार र राहत कार्यमा केही मात्रामा भए पनि सघाउनेछ भन्ने आशा लिएका छौं,' टाइलानलरले भने। दुई साताअघि एनसेल कर्मचारी तथा व्यवस्थापनले सिन्धुपाल्चोक जिल्लाका बाढीपहिरो पीडितका राहतका लागि दस लाख रुपैयाँ सहयोग प्रदान गरेका थियो। सहयोग सिन्धुपाल्चोक दैविप्रकोप उद्धार समितिका लागि त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको थियो। साथै सिन्धुपाल्चोकमा विपत्ति प्रभावित क्षेत्रका बासिन्दालाई सम्पर्क र उद्धारमा सुलभ होस् भन्ने हेतुले एनसेलले निःशुल्क टक टाइम पनि उपलब्ध गराएको थियो।
'हाल देशका विभिन्न भागमा जनधनको क्षति भएको अवस्थामा प्रभावित जनताहरूका लागि राहतका लागि थप २० करोड उपलब्ध गराएका छौं,' एनसेलकी कर्पोरेट कम्युनिकेसन्स निर्देशक सञ्जु कोइरालाले भनिन्। एनसेल स्विडेन र फिनल्यान्ड सरकारको समेत लगानी रहेको टेलिया सोनारा कम्पनीसँगको संयुक्त लगानीमा स्थापित कम्पनी हो। सन् २०१० मा टेलिया सोनाराको प्रवेशसँगै एनसेल ब्रान्ड आएको हो। त्यसअघि मेरो मोबाइल नामको ब्रान्डबाट सेवा दिइएको थियो। कम्पनीका कर्पोरेट कम्युनिकेसन विज्ञ मिलनमणि शर्माका अनुसार गत वर्षसम्म एनसेलले करिब ६६ करोड डलर -करिब ६० अर्ब रुपैयाँ) लगानी गरिसकेको छ। सबैभन्दा बढी मोबाइल प्रयोगकर्ता भएको एनसलेका करिब १ करोड १७ लाख ग्राहक छन्। गत वर्षको कारोबार हेर्दा यो सबैभन्दा बढी आयकर बुझाउने कम्पनीमा दोस्रो नम्बरमा थियो।

कोई टिप्पणी नहीं: