काठमाडौ, कार्तिक ८ - भारत सरकारले नेपालका तीनवटा नदीको तटबन्ध निर्माणका लागि थप रु ३४ करोड ५७ लाख ३० हजार अनुदान सहयोग उपलब्ध गराएको छ ।
सिँचाइ मन्त्री महेन्द्रप्रसाद यादवलाई नेपालका लागि भारतका राजदूत जयन्तप्रसादले सिंहदरवारस्थित सिँचाइ मन्त्रालयमा मंगलबार आयोजित समारोहमा सहयोग सम्बन्धी रकमको चेक हस्तान्तरण गरेका हुन् ।
बागमती, कमला र लालबकैया नदीमा तटबन्ध निर्माणका लागि डुवान तथा बाढी व्यवस्थापन संयुक्त कमिटीको सिफारिसमा नदी नियन्त्रण कार्यक्रम अन्तर्गत भारत सरकारले सो सहयोग उपलब्ध गराएको हो ।
भारतले यसअघि ती नदीमा तटबन्ध निर्माणका लागि रू दुई अर्ब, दुई करोड ३६ लाख ७४ हजार अनुदान सहयोग उपलब्ध गराइसकेको छ ।
त्यसमध्ये बागमतीका लागि रू ६० करोड ८५ लाख १० हजार, लालबकैयाका लागि रू ५४ करोड ९१ लाख ६० हजार र कमला नदीको तटबन्ध निर्माणका लागि रू ८६ करोड ६० लाख रकम खर्च भइसकेको छ ।
हस्तान्तरण समारोहमा सिँचाइ मन्त्री यादलले नेपाल हुदै भारतीय सीमातर्फ बग्ने नदीमा वर्षायाममा आउने बाढीले दुवै देशका धेरै कृषियोग्य जमिन डुवान पारी ठूलो परिमाणमा क्षती पुग्दै आएकोमा सो क्षति न्यूनीकरणका लागि भारत सरकारले पुरयाएको सहयोगको सह्राना गरे ।
भारत सरकारको सहयोगमा २७ जिल्लामा सिँचाइका लागि स्यालोटयूवेल कार्यक्रम सञ्चालनमा रहेको उनले जानकारी दिए ।
सिँचाइ मन्त्रालयका सचिव बिन्दा हाडाले भारत सरकारले नेपालमा सिँचाइ र तटबन्ध निर्माणमा पुरयाएको सहयोगको लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि यसप्रकारको सहयोगको अपेक्षा गरे ।
नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादले नेपालबाट भारतीय सीमा हुँदै बग्ने नदीले वर्षायाम सीमा क्षेत्रमा खेतीयोग्य जमिनको कटान र डुवान गर्ने हुनाले दुवै देशको हितका लागि छलफलका माध्यमबाट परियोजनाको छनौट गरी तटबन्ध कार्य भैरहेको बताए ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें