सोमवार, 24 अक्तूबर 2011

दार्जिलिङमा पुल खस्दा ३२ नेपालीभाषीको मृत्यु

bridge
दार्जिलिङ (भारत), कार्तिक ७ - दार्जिलिङको विजनबारीमा शनिबार साँझ ४० वर्ष पुरानो झोलुङ्गे पुल चुँडिँदा ३२ नेपालीभाषीको मृत्यु भएको छ । दुर्घटनामा ७० जनाभन्दा बढी घाइते भएका छन् भने ३५ भन्दा बढी बेपत्ता छन् । उनीहरूलाई नदीले बगाएको हुन सक्ने प्रहरीले जनाएको छ । मृत्यु भएका अधिकांश बालबालिका र महिला हुन् ।
 दार्जिलिङ बजारबाट करिब ८० किलोमिटर टाढाको विजनबारी-चुङथुङ चिया बगान जोड्ने सानो रंगित नदीको पुल चुँडिँदा ३२ जनाको मृत्यु भएको हो । मृत्यु भएकाको संख्या अझ बढ्न सक्ने दार्जिलिङ प्रहरीको अनुमान छ ।
मृत्यु भएकाहरूमा नरेश तामाङ, दीपेश तामाङ, गितान्जली थापा, पुरन सुब्बा, अञ्जन दर्नाल, सोवित राई, आदित्य शर्मा, कान्ता तामाङ, छेसाङ गुरुङ, सुमित्रा सुब्बा, रिमा ठकुरी, प्रशान्त तामाङ, दीपेश मैनाली, झरना तामाङ, सुगम सुब्बा, पुर्नी सुब्बा, दीपेन गुरुङ छन् । संगम तामाङ, अनिता सुब्बा, अमरबहादुर छेत्री, सुमन थापा, सुष्मा सुब्बा, मिङ्मा ठकुरी, पि्रतम थापा, लीला सुब्बा र मनिकुमार राईको पनि मृत्यु भएको छ । अन्यको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी पि्रतम शर्मा, सुशीला थापा, दिव्या तामाङ, रवीन्द्र तामाङ, छोगेन तामाङ, सुमन सुब्बा, तपन लिम्बु, सुदेश सुब्बा, निर्मल छेत्री, सविन विश्वकर्मा, गोपाल छेत्री, राधिका गुरुङ, अनित शर्मा, बन्दना गुरुङ, रोमा सुब्बा, पासाङ, रञ्जन सुब्बालगायत ७० भन्दा बढी घाइते भएका हुन् । उनीहरूको सिलिगुडीस्थित नर्थ बंगाल मेडिकल कलेज र अन्य नर्सिङहोमहरूमा उपचार भइरहेको दार्जिलिङका एसपी आनन्द कुमारले
जनाए ।
गोर्खा जनमुक्ति मोर्चाले पाँच दिनअघिदेखि आयोजना गरेको गोर्खा पर्यटन महोत्सव हेर्न त्यहाँ पुगेका सर्वसाधारण साँझ साढे ७ बजे दुर्घटनामा परेका हुन् । मृत्यु भएका अधिकांश चुङथुङ, लिजा हिल, लिंगिया, सोम र सिङताम चिया बगानका स्थानीयवासी हुन् ।
दार्जिलिङका जिल्लापाल सौमित्र मोहनले १६ जनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेका छन् । पुल चुँडिएपछि ढुंगामा बजारिएर अधिकांशको मृत्यु भएको हो ।
शनिबार मोर्चाका अध्यक्ष विमल गुरुङ र महासचिव रोशन गिरीलगायत नेताहरू चुङथुङटार-विजनबारी डिग्री कलेजको शिलान्यास कार्यक्रममा सहभागी हुन गएका थिए । कार्यक्रम हेर्न पुगेकाहरूको पुलमा भीड बढेको थियो । विजनबारीका मोर्चा कार्यकर्ता प्रकाश गुरुङका अनुसार करिब ४० फिट अग्लो पुलको चुङथुङटारपट्टकिो फलामे साङलो चुँडिएर दुर्घटना भएको हो । 'थेग्ने नसक्ने गरी सर्वसाधारणको ओहोर-दोहोर थियो,' गुरुङले भने, 'त्यसैले गर्दा दुर्घटना भएको हो ।'
शनिबारैदेखि विजनबारी मैदानमा तिहार मेला पनि आयोजना गरिएको थियो । महोत्सवमा शनिबार नेपाली गायक उदय-मनिला सोताङको सांगीतिक कार्यक्रम थियो । उक्त कार्यक्रम हेर्न भनेर टाढा-टाढाबाट सर्वसाधारण विजनबारी पुगेका थिए । प्रहरीले पनि अत्यधिक भारकै कारण पुल चँुडिएको जनाएको छ ।
सन् १९७० को दशकमा बनाइएको यो पुलले विजनबारीको अगमसिंह गाउँ र चुङथुङटार जोड्थ्यो ।
यसैबीच पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी, केन्द्रीय रेलमन्त्री दिनेश द्विवेदी, सिलिगुडीका विधायक रुद्रनाथ भट्टाचार्यलगायतले दुर्घटनास्थल निरीक्षण गरेका छन् ।
मुख्यमन्त्री बेनर्जीले मृत्यु भएकाको परिवारलाई जनही २ लाख, गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई २५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने बताइन् । 
करिब एक महिनाअघि मात्रै भूकम्पको विपत्ति सहेका दार्जिलिङवासीले शनिबार अर्को गम्भीर पीडा सामना गर्नुपर्‍यो । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको पूर्वसन्ध्यामा दार्जिलिङ गम्भीर शोकमा डुबेको छ  । 'दुर्घटनाले सिंगो दार्जिलिङलाई शोकविह्वल बनायो,' गोर्खा जनमुक्ति मोर्चाका महासचिव रोशन गिरीले भने ।

कोई टिप्पणी नहीं: