रविवार, 23 अक्टूबर 2011

दुर्घटनापछि रोकिएको सडकमा यातायात सुचारु

 कार्तिक ६ - निर्माणाधीन बिपी राजमार्गअन्तर्गत सिन्धुलीको झाँगाझोली गविस- ४ निउलिभिरमा गत हप्ता भएको यात्रुबाहक बस दुर्घटनापछि सो सडकखण्डमा यातायात सञ्चालनमा लगाइएको रोक हिजबाट खुल्ला गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्बदलीय बैठकले शनिबारबाट सो सडक खोल्ने सहमति गरेको हो।
खण्डित रुपमा यातायातका साधान सञ्चालन गर्न दिने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।सहमतिअनुसार भीमेश्वर गाविसको खुर्कोट बजार देखि शीतलपाटी गाविसको घुमाउने चैनपुर र नेपालथोकदेखि पुरानोझाँगाझोली गाविसको पशुपति बजारसम्म शनिबारदेखि यातायातका साधन सञ्चालन सुरु भएको प्रमुख जिल्ला अधिकारी वेणिमाधव ज्ञावलीले जानकारी दिए।

बिपी राजमार्गअन्तर्गतको दुर्घटनाग्रस्त क्षेत्रको रुपमा रहेको घुमाउने चैनपुरदेखि पशुपतिबजारसम्मको करिब पाँच किलोमिटर सडकमा स्तरोन्नतिको काम भइरहेको जानकारी दिँदै प्रजिअ ज्ञावलीले तिहार अगाडि नै सो खण्ड पनि खुल्ला गर्ने लक्ष्य रहेको बताए ।

उक्त सडकखण्डमा यातायात सञ्चालनमा रोक लगाइएका कारण सयौँ यात्रुलाई पैदल हिँडेर नेपालथोकसम्म जानुपर्ने बाध्यता रहेको र त्यस क्षेत्रका बजारमा सामान ढुवानीमा समेत समस्या पैदा भएपछि स्थानीय बासिन्दाले यातायातका साधन सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय र राजनीतिक दलहरुलाई दबाब दिएका थिए।सोही सडकखण्डको पुरानो झाँगाझोली- ४ मा असोज २६ गते भएको यात्रु बस दुर्घटनामा ४१ जनाको मृत्यु भएपछि सर्वदलीय सहमतिकै आधारमा यातायात सञ्चालनमा रोक लगाइएको थियो।


(डिसीनेपाल डटकम संवाददाता)

कोई टिप्पणी नहीं: