गुरुवार, 7 जुलाई 2011

पहिरोले १२ परिवार विस्थापित, ३२ घर जोखिममा

pahiro
थुम्की (लेखनाथ), अषाढ २३ - यमकुमारी विक रात पर्नासाथ छिमेकमा बास माग्दै हिँड्छिन् । थुम्की-७ को पहिरोले आफ्नो घर कुनै पनि बेला भत्कन सक्ने अवस्थामा पुगेपछि उनी आफ्नो घरमा नसुती छिमेकीकहाँ जान थालेकी हुन् । 'कसैले बास नदिए बरु डाँडामा गएर बस्छु तर जानी-जानी मर्नलाई आफ्नै घरमा सुत्नु त भएन नि,' उनले भनिन् ।
३५ वर्षीया विकको पाँच जनाको परिवार छ । उनीहरू घरको खाद्यान्न लगेर परिवारका सबै सदस्यका लागि अरूको घरमा पकाउन लगाउँछन् र २० मिनेट टाढाको टोलमा बाँडिएर सुत्छन् । सोमबारको पहिरोले छिमेकको घर पुरिएर ६ जनाको एकै ठाउँमा मृत्यु भएको थियो । त्यही पहिरोले अहिले उनको घर जोखिममा छ । छिमेकका चार परिवारले घरै छाडिसकेका छन् । 
सुनमाया विक, पुकमाया विक र भोजराज सुवेदीका परिवार घर खाली गराएर अन्तै सरेका छन् । अरू १२ परिवार सामान नझिके पनि राति आफ्नो घरमा सुत्दैनन् । उनीहरू साँझ पर्नासाथ छिमेकीकहाँ गएर सुत्न हानथाप गर्छन् । केही नजिकैको विद्यालयमा गएर सुत्छन् । 'पहिरोले घर खतरामा छ, दुःखका बेला शरण दिनैपर्‍यो, लुगाफाटो पनि छैन, छिँडीमै रात कटाएका छन्,' मंगलबार ७ जनाभन्दा बढी छिमेकीलाई बास दिएका तिलबहादुर थापाले भने ।
रूपाकोट-भोर्लेटार ग्रामीण सडकको थुम्की खण्डमा गइसकेको यो पहिरोबाहेक आसपासको क्षेत्र पनि चर्किएपछि थप २० घर जोखिममा छन् । 'एउटा पहिरोले ६ जनाको ज्यान लियो अरूलाई पनि खतरा बढाएको छ, वर्षा नरोकिएकाले उनीहरू संकटमै छन्,' गाविस सचिव दुर्गाराज सुवेदीले पहिरो प्रभावित क्षेत्र देखाउँदै भने । सडक किनारमा थुपारेको माटो बगेर सय मिटर तलको चन्द्रबहादुरको घर बगाउँदा उनका दुई श्रीमती, बुहारी, दुई नातिनी र एक नातिको मृत्यु भएको थियो । बिहानै गएको पहिरोमा पुरिएका चन्द्रबहादुर स्थानीयको उद्धारबाट बाँचेका थिए । उनका छोरा मनबहादुर अघिल्लै दिन खेत जोतेर बेंसीमै बसेको र नाति मदन ठूलीआमाकहाँ गएकाले बचे । पहिरोले पुरिएका मनबहादुरका छोरीहरू शान्ति र ममतालाई अर्धचेत अवस्थामा उद्धार गरिए पनि तत्काल उपचार नपाउँदा मृत्यु भएको स्थानीयले बताए । 'हामी सुगममै छौं जस्तो लाग्थ्यो, अब थाहा भो- दुर्गममै रहेछौं,' गाविस संयन्त्र सदस्यसमेत रहेका तिलबहादुर थापाले भने, 'बाटो पहिरोले चलेन, हेलिकप्टर मगाउँदा पनि आएन । नजिकै अस्पताल नभएकाले उनीहरूको मृत्यु भयो ।' मदनको शैक्षिक भविष्यबारे चिन्तित हुँदै उनले भने, 'आठ कक्षामा पढ्ने मदनको अब न बस्ने घर छ न उसलाई बाबुले पढाउने आधार नै छ । कसैको आश्रय पाए राम्रै गर्न सक्छ ।' चन्द्रबहादुरको घरमाथि मंगल विकको घर पनि पहिरोले बगाएको थियो । उक्त घर पनि बग्दै आएर चन्द्रबहादुरको घरमा ठोक्किएको थियो । मंगलको परिवार आरन चलाउने काममा अन्तै सुत्ने गरेकाले उक्त घरमा भने कोही परेनन् । 'बाटोले ज्यान लियो, सुकुम्बासी नै बनाउने भयो,' बाटो सबैको आवश्यकताले खनिए पनि यस्तो होला भन्ने नसोचेको रूपाकोट भोर्लेटार ग्रामीण सडकका सदस्य तथा वडा नम्बर ७ का अध्यक्ष ध्रुवबहादुर विकले बताए । लेखनाथको सीमा खोलाको छेउबाट ६ घन्टा पैदल दूरीमा रहेको यो विपन्न गाउँमा आइपरेको बिपत्तिले गाउँले पुरै शोकमा छन् । चन्द्रबहादुरका नाति कक्षा २ मा पढ्ने साजन कक्षाका पहिलो विद्यार्थी थिए । उनी बिहानै उठेर पढ्न लाग्दा पहिरोमा परेका थिए । शव पहिरोबाट निकाल्दा समेत उनको हातमा किताब रहेको गाउँलेले सुनाए । ९ वर्षकी छोरी शान्ति पनि पढ्नमा तेज थिइन् । पाँच रोपनी पाखोबारी भएका उनीहरू सधैं अधियाँ कमाइ गरी छोराछोरी पढाएर जीवन धान्दै आएका थिए । यसपटक साहुले बेंसीको खेत आफैं गरेर खानु अधियाँ दिन पर्दैन भनेपछि यो परिवार निकै उत्साही थियो । ३५ वर्षकी बुहारी धनी निकै दिनदेखि खेतमा बिउ काड्दै आएकी थिइन् । रोपाइँका लागि चाँडै बेंसी जान त्यो बिहान ५ बजे नै उठेर पानी ल्याई दैलो पोत्दै गर्दा पहिरोले घरै बगायो । 'यसपटक त खेतको सबै कमाइ पाउने खुसीमा दंग थिए, तर सबै सपना भताभुंग भयो,' छिमेकी हिता रुपाखेतीलेे भनिन् ।
त्रस्त छन् मादी छेउका बासिन्दा
कास्की (कास)- पहिरोको त्रासले उत्तरपूर्वी क्षेत्र नार्माजुङका सेतीखोला गाउँका २० घरपरिवार विस्थापित भएका छन् । मादी नदी नजिकै रहेको चासु र सबी गाउँका ६० परिवार पहिरोको त्रासले रातभर सुत्न सकेका छैनन् । विस्थापित परिवारहरू पोखरा र नजिकैको गाउँमा परिवारसहित पुगेका छन् ।
अघिल्लो वर्ष साउनमा गएको पहिरोले बाटो हिँड्दै गर्दा पुरिएर ५ जना बेपत्ता भएपछि आसपासका ३ सय बढी बासिन्दा विस्थापित बनेका थिए । 'अहिले पनि पहिरो आसपासका बासिन्दा रातभर सुत्न सक्दैनन्,' स्थानीय वेदप्रसाद गुरुङले भने, 'बेलैमा क्षति न्यूनीकरणको उपाय ननिकाले ठूलो क्षति हुने सम्भावना छ ।'
अहिले पनि पहिरो बगिरहेकाले पहिरोमा पुरिने त्रासले बाटो हिँड्न सर्वसाधारण डराउने गरेका छन् । पहिरोले बाटो अवरुद्ध हुँदा सिक्लेस, खिलाङ, सोदा, चिप्ली, सेतीखोला लगायतका बासिन्दा हिँडडुल गर्न सकेका छैनन् ।
दर्जनौं गाउँका सयौं बासिन्दा हिँडडुल गर्ने यो नाउरी भिरको पहिरोको लम्बाइ ६ सय मिटर र चौडाइ २ सय ५० मिटर रहेको प्राविधिकले जानकारी दिएका छन् । पहिरो माथिको करिब ४ सय मिटर भाग चर्किएकाले कुनै पनि बेला खस्न सक्ने खतरा रहेको नेपाल रेडक्रस सोसाइटी कास्कीका वरिष्ठ अधिकृत खेमराज सापकोटाले बताए । 'नाउरी भिर र मादी नजिकैका बस्ती खतरामा छन्,' उनले भने 'हरदम सचेत रहन आग्रह गरेका छौं ।'

कोई टिप्पणी नहीं: