बुधवार, 6 जुलाई 2011

पर्शुराम हतियार 'कारोबारी'

खिलानाथ ढकाल, अमर खड्का, विराटनगर, असार २२- ज्यान मार्ने उद्योगका फरार अभियुक्त युथफोर्स मोरङ अध्यक्ष पर्शुराम बस्नेत अबैध हतियार लिएर एमाले पार्टीमा सक्रिय भए पनि राज्य प्रशासनको कारवाहीमा कहिल्यै पर्ने गरेका छैनन्। पर्शुरामले दुई वर्षपहिले हाल अनेरास्ववियु केन्द्रीय सदस्य अञ्जना अधिकारीलाई पार्टी कार्यालयमै पेस्तोल देखाएका थिए। 'माओवादीसँग हतियार भन्दा वैचारिक लडाइँ गर्नुपर्ने' धारणा राख्दा अञ्जनालाई पेस्तोल देखाएर सामसुम पारिएको थियो।
केन्द्रीय नेताहरूकै सामुन्ने एमाले मोरङ अधिवेशनमा पनि पर्शुराम र सहयोगीले हतियारले आतंकित तुल्याए। विनोद ढकाललाई जिल्ला अध्यक्ष निर्वाचित गराउन उनले धन र हतियारको भरपुर प्रयोग गरेको चर्चा विराटनगरमा सेलाएको छैन।
पर्शुरामले दर्जनौँ कार्यकर्तालाई आँखा नदेख्ने र अनपढ बनाएर ६० भन्दा बढीको मत खसाले। अधिवेशनमा ढकालको प्यानल झिनो मतले निर्वाचित भयो। 'दर्जनौंको इच्छाएको व्यक्ति बनी भोट हाल्न थालेपछि विरोध गर्‍यौं,' अध्यक्षका प्रत्यासी घनश्याम खतिवडाले भने, 'पर्शुराम र उनका कार्यकर्ताले हतियार प्रदर्शन गरेर तर्साउन खोजे।'
अधिवेशन बाहुबलको बन्धक बनेको देखेपछि केन्द्रबाट खटिएका (हाल उपप्रधान तथा अर्थमन्त्री) भरतमोहन अधिकारी र सांसद लालबाबु पण्डितले सुरक्षा मागेर निर्वाचन सुचारु गराउनुपरेको थियो।
धनकुटामा युथफोर्स र वाइसिएलबीच भिडन्त हुँदा पेस्तोल प्रयोग भएको थियो। धनकुटा प्रहरी प्रशासनले वाइसिएलसँग भिडन्तमा पर्शुरामले पेस्तोल पठाएको सूचना विराटनगर प्रहरीलाई दिए पनि कुनै खोजबिन भएको छैन। धनकुटामा तीन वर्षयता युथफोर्स र वाइसिएलबीच चारपटक भिडन्त भएको छ।
पूर्व क्षेत्र मात्र हैन, केही महिनाअघि भक्तपुरमा पनि युथफोर्स-वाइसिएल झगडामा हतियार प्रयोग भएको थियो। ती हतियार पर्शुरामले नै भक्तपुर पुर्‍याएको ती नेताले बताए।
अरू संगठन वा समूहस"गको झगडामात्र हैन, एमालेभित्रै गुटको घम्साघम्सीमा पनि पर्शुरामले हतियार प्रयोग गरेका कैयौं घटना छन्।
बस्नेतले भारतबाट साना हतियार खरिद गरी युथफोर्सका भित्रिया कार्यकर्तालाई बाँडिरहेको जानकारी स्रोतले गराएको छ।
हतियार किन्न उनले भारत बिहारका पूर्णिया, अररियालगायत क्षेत्रमा सञ्जाल विस्तार गरेका छन्। नागरिकको खोजअनुसार हतियार कारोबारमा पर्शुरामलाई विकास चौधरी र विनय चौधरीले सघाउने गरेका छन्। क्यारिङ गरी जोगबनी नाका आसपासबाटै उनले साना हतियार भिœयाउने गरेका छन्।
करिब १५ वर्षदेखि नेपालमै रहेका भारतीय नागरिक चौधरीद्वय मोरङ टंकिसिनवारीमा सुरभि पोलिमर्च जुत्ताचप्पल कारखाना सञ्चालन गरिरहेका छन्। एमालेको कुनै कमिटीमा नरहे पनि हरेक कार्यक्रममा उनीहरू अग्रपंक्तिमा हुन्छन्। सञ्चारकर्मी आक्रमण घटना प्रतिकार गर्न विराटनगर आएका युवासंघका अध्यक्ष महेश बस्नेतलाई लिन तीन साताअघि विकास चौधरी को१च ४०३६ नम्बरको टोयटा गाडी लिएर तामझाम साथ विमानस्थल पुगेका थिए।
हतियार ओसारपसारमा पनि पर्शुरामले 'केटा' प्रयोग गर्ने गरेका छन्। 'नेटवर्क विस्तार गर्न भारतबाट हतियार ल्याई मुकेश बुढाथोकीको घरमा जम्मा पारिन्छ,' नाम उल्लेख नगर्ने एमाले जिल्ला सचिवालय सदस्य भने।
ती नेताका अनुसार तीन वर्षयता पर्शुरामले 'आत्मरक्षा' र 'संगठन सुरक्षा' का लागि भन्दै पूर्वका मोरङ, सुनसरी, झापा, धनकुटालगायत जिल्लामा हतियार पुर्‍याइसकेका छन्।
युथफोर्स मोरङ कार्यकर्तासँग तीन दर्जन हतियार रहेको दाबी ती सदस्यले गरे। 'दुई वर्षअघि गोली लागेपछि पर्शुरामको साथमा हतियार हुन थालेको छ,' उनले भने, 'जिल्लाबाट भेट्न आएकामध्ये मन खाएकालाई हतियार दिन्छन्।'
स्रोतअनुसार दुई महिनाअघिसम्म जारी हतियार ओसारपसार पर्शुराम फरार भएपछि रोकिएको छ। हतियार बिक्रेताले जोगबनीसम्म हतियार ल्याइदिन्छन्। सीमाबाट हतियार ल्याउन समूह नै सक्रिय छ। 'प्रतिगोटा हजार रुपैयाँ दिएपछि सुरक्षा युनिट छल्दै विराटनगरसम्म हतियार ल्याइदिन्छन्,' ती नेताले भने।
भर्खरै मोरङ सरुवा भएका प्रहरी प्रमुख एसपी प्रद्युम्न कार्कीले अवैध हातहतियार कारोबारबारे प्रतिक्रिया दिँदै तुरुन्तै गम्भीर ढंगले अनुसन्धान थाल्ने बताए।
पर्शुरामले खुलमखुला हतियार प्रयोग गरे पनि एउटैको इजाजत लिएका छैनन्। मोरङ प्रशासन कार्यालयका अनुसार २०४३ सालयताको तथ्यांकमा पर्शुराम (कृष्ण) ले हतियार प्रयोगको इजाजत लिएको देखिँदैन, न उनले सुरक्षाको कारण देखाउँदै हतियार चलाउने अनुमतिका लागि निवेदनै लेखेका छन्।
कुनै पनि नागरिकले असुरक्षा महसुस गरी इजाजत लिन आए प्रक्रिया पूरा गरेर हतियार चलाउन दिने व्यवस्था छ। हतियार बोक्न स्थानीय निकायबाट प्रशासन कार्यालयमा सिफारिसपछि प्रहरीले आवश्यक छ/छैन प्रमाणित गरेपछि सुरक्षा समितिले गृह मन्त्रालयमा सिफारिस गर्नुपर्ने नियम छ। गृहले स्वीकृत दिएपछि मात्रै हतियार खरिद गर्न वा बोक्न पाइन्छ। 'पर्शुराम यस्तो कुनै प्रक्रियामा आएको देखिँदैन,' प्रजिअ सुरेश अधिकारीले भने।
एमाले मोरङ अध्यक्ष ढकालले 'शान्तिपूर्ण राजनीति गर्ने' पार्टी कार्यकर्ताले हतियार कारोबार गर्नै नसक्ने जिकिर गर्दै आरोप झूठो रहेको बताए। 'एमालेविरोधी कित्ताले पार्टी समाप्त पार्न प्रोपोगन्डा मच्चाउन हल्ला पिटेको हुनसक्छ,' उनले भने, 'कोही एमालेको ब्यानरमा रहेर एमाले विरोधी हल्ला फिँजाउँछ भने त्यो घातक हुनेछ।'

कोई टिप्पणी नहीं: