गुरुवार, 28 अगस्त 2014

भारतको ४ करोड ८० लाख बुझ्दै प्रधानमन्त्रीले भन्नुभयो–मुलुकले उज्यालो पाउनेछ !

काठमाडौं, भदौ १२ - प्रधानमन्त्री सुशील कोइरालाले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा कुनै कमजोरी हुन नदिइएको दावी गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बाढी पहिरो पीडितलाई विभिन्न सङ्घसंस्थाबाट प्राप्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा उहाँले पीडितलाई प्रदान गरिने राहत सामग्री र रकम सदुपयोग होस् भन्नेमा आफू प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्रीले संविधान समयमै आउने र मुलुकले उज्यालो पाउने पनि बताउनुभयो । नेपालको विकास कसैले रोक्न नसक्ने प्रधानमन्त्रीले भन्नुभयो ।

भारतको ४ करोड ८० लाख सहयोग

कार्यक्रममा भारतीय दूतावासले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चार करोड ८० लाख रुपैयाँ (भारु ३ करोड) सहयोग प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले प्रधानमन्त्री कोइरालालाई चेक हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा राजदूत रेले हालैको बाढी पहिरोबाट पीडितलाई राहत र पुनःस्थापनाका लागि नेपाल सरकारले थालेका काममा सघाउन भारत सरकारका तर्फबाट रकम दिइएको बताउनुभयो । यसैगरी सिद्धार्थ बैंक, सिभिल बैंक, एपेक्स कलेज र साङ्ग्रिला म्यानेजमेन्ट एण्ड होटल ट्रेनिङ सेन्टरले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेका छन् । एपेक्स कलेजका तर्फबाट सञ्चालक समितिका अध्यक्ष एवम् सूचना तथा सञ्चार मन्त्री डाक्टर मीनेन्द्र रिजालले प्रधानमन्त्री कोइरालालाई  एक लाख ११ हजार १११ रुपैयाँ, सिद्धार्थ बैंक लिमिटेडका तर्फबाट अध्यक्ष चिरञ्जीवीलाल अग्रवालले १० लाख, सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले पाँच लाख ७५ हजार रुपैयाँ र साङ्ग्रिला म्यानेजमेन्ट एण्ड होटल ट्रेनिङ सेन्टरका निरज श्रेष्ठले ३० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

कोई टिप्पणी नहीं: