रविवार, 24 अगस्त 2014

‘लखनउ नेटवर्क’मा नेपालीको करोडौं रुपैयाँ डुब्दै

नयाँ दिल्ली, भाद्र ८ - सदस्यता संख्या बढाएका आधारमा दोब्बर–तेब्बर फाइदा दिलाउने भन्दै उत्तर प्रदेशको लखनउमा नेपालीले संचालन गरेको नेटवर्किङ–धन्दाको जालोमा परेर मध्य पश्चिमका हजारौं नेपाली ठगिने क्रम जारी छ । ‘बे–बेनिफिसियल भेन्चर मार्केटिङ प्राइभेट लिमिटेड’का नाममा २०१२ को नवेम्भरबाट लखनउको गोमतीनगरमा खुलेको यो नेटवर्किङले मध्य पश्चिमका गाउँघरसम्म एजेन्ट राखेर लखनउसम्म ग्राहक ओसार्ने र केही दिनको आन्तरिक प्रशिक्षणपछि सदस्य बनाउने गरेको पाइएको छ ।
Netwrok धरान मुल घर बताउने पवित्रा राई र सुरजसिंह बिष्ट निर्देशक रहेको वेवसाइट बनाएर सुरु भएको नेटवर्किङमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ, प्यूठानका हजारौं सर्वसाधारण झुक्किदैं लखनउ पुगिसकेको पीडितले बताएका छन् । ‘म ९ पटकजति लखनउ गएँ, मीठा कुरा गर्ने र सपना देखाउनमा यो मार्केटिङका सबैजना पोख्त छन्,’ कपिलवस्तुको चनौटामा रहेकी एक सदस्य रचना खड्काले फोनमा भनिन्—‘एउटै समुहमा २०÷२५ जना नयाँ ग्राहक त्यहाँ पुग्ने गरेका छन् ।’ चनौटा बजारमै आफन्तकोे सिलाइ पसलमा सानोतिनो काम गरेर गुजारा चलाइरहेकी शान्ति बूढामगर र उनका भाई सोमकुमार बुढा पनि त्यही भ्रममा परेर केही पटक लखनउ यात्रामा गए । र, जनही ७० हजार रुपैयाँ तिरेर ‘मेम्बर’ बनेर घर फर्किए । जसले जति छिटो अरु ‘मेम्बर’ बढाएर ल्याउँछ, उसले दोब्बर–तेब्बर रकम पाउने विश्वास दिलाइएको थियो । यसरी विश्वास दिलाउन लिइने एक साता लामो प्रशीक्षण कक्षामा ३ सयभन्दा बढी नेपालीको हुल रहने गरेको लखनउ पुगेर फिर्नेहरुले बताए ।
‘एकजना ग्राहक बनाएपछि मेसिनमा कार्ड हाल्नासाथै ८ हजार भारुसम्म मुनाफा पाइन्छ, अरु ग्राहक बनाएबापतको हिसाब बेग्लै हुन्छ भनियो,’महेन्द्रनगरबाट अर्का एक पीडितले फोनमा भने । सरकारले दुई बर्षअघि कारबाही गरेको नेटवर्किङ धन्दा युनिटी लाइफकै केही ‘पार्टनर’ समेत बे–बेनिफिसियल भेन्चर मार्केटिङमा संलग्न रहेको पीडितले बताए । यसमा सदस्य बन्नेलाई सामान्य सर्ट–पेन्ट पनि १० हजार भारु मूल्य तिरेर अनिवार्य रुपमा किन्न लगाइने गरेको उनले बताए ।
उत्तर प्रदेशमा दर्ता गरेपनि नेपाली ग्राहक मात्रै सदस्यका रुपमा लिनाले लखनउस्थित स्थानीय प्रहरी÷प्रशासनमा बे–बेनिफिसियल भेन्चर मार्केटिङको ‘नेटवर्किङ बिजिनेश’ बारे कुनै सूचना पुग्न सकेको छैन । ‘किनभने यसमा भारतीय नागरिक ठगिएको आधार र प्रमाण कतै भेटिन्न,’रुपन्देहीको कृष्णनगरस्थित शान्ति पुर्नस्थापना गृहका प्रबन्धक भूमीराज भट्टराईले भने—‘यसबेला ठगिनेहरुको उजुरी कतै सुनुवाइ भएको छैन, अब कुटनीतिक तवरबाट यो नेटवर्किङ–विजिनेशबारे सचेत गराउनुपर्ने देखिन्छ ।’ भट्टराईले स्थानीय मिडिया र एफएमबाट लखनउ–नेटवर्कबारे सचेतना बढाउने काम भइरहेको समेत जानकारी दिए ।

कोई टिप्पणी नहीं: