कमल मादेन, भाद्र ९ - बिराटनगरका प्रेम बिष्ट सर्प समाउन नाम चलेका व्यक्ति हुन् । उनी ‘इकोलोजिकल कन्जरभेसन नेपाल’ नामक संस्थाका अध्यक्ष पनि हुन् । सर्प जतिसुकै विषालु किन नहोस्, उनले नाङ्गो हातले बिना औजार सजिलै समात्छन् । त्यो उनको कला हो ।
उनले बिराटनगर आसपासका क्षेत्रमा सयौं विषालु सर्प समाएका छन् । कसैको घरमा सर्प पसेको देखियो भने बिष्टले तुरुन्त खबर पाउँछन् । उनी हतार-हतार सर्प समाउन जान्छन् । उनले घरका मानिसलाई भयमुक्त मात्र गर्दैनन्, घरमा पसेको सर्पलाई समेत उद्धार गर्छन् । बिष्टले सर्पलाई पहिले कतै टाढा लगेर छाड्थे । तर, हिजोआज घरमै पाल्न थालेका छन् । बिष्टको यो कामबाट बिराटनगरबासीले ठूलो गुण मानेका छन् ।
गोमनले टोक्दा झण्डै प्राणान्त
प्रेम बिष्ट गत साउनमा सिन्धुली पुगेका थिए । एक सर्पदंश उपचार केन्द्रको अनुरोधमा उनले सिन्धुलीमा केही विषालु सर्पहरु समाए । बिष्ट श्रावण १५ गते एउटा गोमन सर्प आफ्नो झोलामा हालेर मोरङ फर्किए । बिष्ट मोटरसाइकल पछाडि थिए । साथमा झोलाभित्र गोमन सर्प थियो । बाटामा खाल्डाखुल्डी प्रशस्तै थिए । उनी चढेको मोटरसाइकल खाल्डोमा उफ्रियो । त्यसक्रममा बिष्टले पाखुरामा चिसिक्क गरेको अनुभव गरे । खाल्डोमा परेर मोटरसाइकल उफ्रँदा गोमनलेे बिष्टलाई झोला भित्रैबाट डस्न भ्याएछ ।
सिन्धुलीकै एक सर्पदंश उपचार केन्द्रमा बिष्टलाई १४ स्नेक एन्टिभेनम् भाइल दिइयो । त्यतिबेलासम्म बिष्टको स्थिति ठीकै थियो । उपचार केन्द्रका कर्मचारीले उपचारका क्रममा भेन्टिलेटर आवश्यक पर्न सक्छ भनेर बिष्टलाई वीपी अस्पताल धरान लैजान राम्रो हुने बताए । बिष्टलाई तुरुन्तै धरान लगियो ।
अस्पताल पुुर्याउँदा बिष्टको मुखबाट र्याल आइरहेको थियो । आँखा उघार्न सकिरहेका थिएनन् । हात खुट्टा अररा हुँदै गइरहेका थिए । वीपी अस्पतालमा ३६ स्नेक एन्टिभेनम् भाइल थपियो । बिष्टको ज्यान जोगियो ।
स्नेक एन्टिभेनम् भाइल
सर्पदंशको उपचारमा प्रयोग गरिने औषधि नै स्नेक एन्टिभेनम् भाइल हो । त्यो सर्पकै बिषबाट बनाइन्छ । त्यो औषधि बनाउनका लागि सर्पको विष भेडा, घोडा, गधा, खच्चरलगायत जनावरको स्वस्थ शरीरमा लगाइन्छ । शुरुमा थोरै लगाइन्छ । बिषको असरले जनावर बिरामी हुन्छ । मर्दैन ।
त्यही जनावरमा केही महिनाको अन्तरालमा पहिलेभन्दा अलि बढी बिष लगाइन्छ । जनावर फेरि बिरामी हुन्छ । त्यो क्रम केहीपटक गरिन्छ । पछि जनावरलाई सर्पको विषले केही असर नगर्ने हुन्छ ।
त्यही जनावरमा केही महिनाको अन्तरालमा पहिलेभन्दा अलि बढी बिष लगाइन्छ । जनावर फेरि बिरामी हुन्छ । त्यो क्रम केहीपटक गरिन्छ । पछि जनावरलाई सर्पको विषले केही असर नगर्ने हुन्छ ।
सर्पको विष पचाएको जनावरको रगत झिकिन्छ । रगतबाट सेतो पदार्थ अर्थात प्लाज्मा आधुनिक प्रविधिबाट छुट्याइन्छ र त्यसलाई निश्चित तापक्रममा स्टोर गरिन्छ । त्यही हो – स्नेक एन्टिभेनम भाइल ।
गोमन सर्पले टोक्दा लगाइने स्नेक एन्टिभेनम भाइल गोमनकै विषबाट बनाइएको हुन्छ । करेत जातको सर्पले टोक्दा लगाइने स्नेक एन्टिभेनम करेतकै विषबाट बनाइएको हुन्छ । त्यसैगरी १ भन्दा बढी सर्प प्रजातिको विषबाट पनि स्नेक एन्टिभेनम भाइल बनाइन्छ ।
एकै किसिमको विषबाट बनेको एन्टिभेनमलाई ‘मोनोभलेन्ट’ भनिन्छ । दुई किसिमको विषबाट बनेको एन्टी भेनमलाई ‘डाईभलेन्ट’ र तीन वा तीनभन्दा बढी सर्पका प्रजातिको विषबाट बनेको एन्टी भेनमलाई ‘पोलीभलेन्ट’ भनिन्छ ।
नेपालमा औषधिको अभाव
नेपालमा स्नेक एन्टिभेनम् भाइल बन्दैन । त्यो भारतबाट आयात गरिन्छ । पत्रकार दीपक दाहालले एक दैनिक पत्रिकामा – ‘भारतले बेच्दैन, तेस्रो देशकाले निको हुँदैन’ शीर्षकमा यससम्बन्धी समाचार लेखेका थिए । नेपालमा पाइने बिषालु प्रजातिको सर्पदंशको टोकाइमा भारतीय कम्पनीका स्नेक एन्टिभेनम् भाइलले मात्र काम गर्छ ।
‘भारतले बेच्न नदिएपछि अघिल्लै वर्षदेखि नेपालमा सर्पदंशको भ्याक्सिन अभाव छ । स्नेक एन्टिभेनम् भाइलको बैकल्पिक व्यवस्थापन स्वास्थ्य बिभागमाथि चुनौति बनेको छ’ भनेर दाहालले लेखेका थिए ।
समाचार पुष्टि गर्न ‘गत वर्ष नै खोपको हाहाकार भएपछि केही बिरामीको अस्पताल आइपुगेर पनि उपचार नपाई मृत्यु भएको थियो’ भनेर जानकारी दिएका थिए ।
इपिडिमोयोलोजी तथा रोग नियन्त्रण माहाशाखा प्रमुख डा.बाबुराम मरासिनीले जनाएअनुसार असार महिनामा डब्लु.एच.ओ. ले ४ हजार प्रति स्नेक एन्टिभेनम् भाइल उक्त शाखालाई उपलब्ध गरायो । अन्य ६ हजारप्रति आउने क्रममा छ । स्नेक एन्टिभेनम् भाइलको अहिलेको मूल्य प्रति भाइल भारु ६ सय हो ।
नेपालका ९० प्रजातिका सर्प छन्
एक लेखअनुसार नेपालमा हालसम्म २२ सर्प प्रजाति विषालु पाइएका छन । विषरहित र विषसहितका गरी नेपालमा ९० प्रजातिका सर्पहरु सुचीकृत भएका छन् ।
इपिडिमोयोलोजी तथा रोग नियन्त्रण माहाशाखा टेकुका अनुसार मुलुकमा बर्षेनी झण्डै १२ हजार मान्छेलाई सर्पले टोक्छ, जसमध्ये २ हजारजतिलाई विषालु सर्पले टोकेको हुन्छ ।
उक्त शाखाले जनाए अनुसार सर्पदंश भएकामध्ये २ सयजतिको अस्पताल पुग्न नसकेर वा ढीलो पुगेको कारण मृत्युसमेत हुने गरेको छ । झापास्थित दमकको आम्दा अस्पतालमा ०७० साल जेठदेखि पुस महिनाभरि १ हजार २९ जना व्यक्ति सर्पदंश उपचारका निम्ति भर्ना भएका थिए । सबै बिरामी सकुशल घर फर्केको अस्पतालको दाबी छ ।
त्यसैगरी कोशी अञ्चल अस्पताल बिराटनगरमा ०६९ सालमा १ सय २९ जना सर्पदंश उपचारका निम्ति भर्ना भएको तथ्यांक अस्पतालको रजिष्टरमा देखिन्छ । तीमध्ये ५० जनालाई विषालु सर्पले टोकेको उल्लेख छ । उपचारका क्रममा ३ जनाको ज्यान गएको थियो ।
झापादेखि कञ्चनपुरसम्म नेपाली सेनाका सहित करिब ३५ वटा सर्पदंश उपचार केन्द्र छन ।
सर्पले टोकेका लक्षणहरु
गोमनजस्ता विषालु सर्पले टोक्दा केही मिनेटपछि नै विष फैलावको लक्षण देखा पर्छ । बिरामीले आँखा उघार्न सक्दैन । मुख बन्द हुन्छ । बिरामीले मुखबाट जिब्रो बाहिर निकाल्न सक्दैन । पानी निल्न असजिलो हुन्छ । स्वास फेर्न गार्हो हुन्छ । हात खुट्टाका मांशपेशी चल्न गार्हो हुन्छ । मुखबाट र्याल निस्कन्छ । उल्टी आउला जस्तो हुन्छ ।
करेत सर्पले अक्सर राति सुतेका बेला टोक्छ । करेतको विष चाँडै फैलँदैन । बिहान पेट दुख्छ, आँखा उघार्न गार्हो हुन्छ । तराईमा करेत सर्पको टोकाइबाट अभिभावकले थाहै नपाई अक्सर केटाकेटीहरु मर्ने गर्छन् ।
सर्पले टोक्नेवित्तिकै मृत्यु हुने भयले बिरामीमा विष फैलिसकेको भ्रम पर्दछ । यसले गर्दा विष नफैलिई नै बिरामी सिथिल हुने गर्छन्, जसले गर्दा विष कति फैलिएको छ भन्ने अनुमान गर्न उपचारकर्तालाई असजिलो हुन्छ ।
भाइपर समुहका सर्पले टोक्दा धेरै रक्तश्राव हुन्छ । विष फैलिएको प्रारम्भिक लक्षणस्वरुव पीडितको गिजाबाट रगत बग्छ । गम्भीर विषक्तताका बेला त जुनसुकै ठाउँबाट रगत बग्न थाल्छ । जस्तो, छालाभित्र, आँखामा, पेटभित्र, टाउकाको भित्रपट्टि अथवा मष्तिष्कमा रक्तश्राव हुन सक्छ ।
गोमन सर्पले डसेको हो भने गोमन सर्पकै विषबाट बनाइएको स्नेक एन्टिभेनम् भाइल प्रयोग गर्नु राम्रो हो ।
उपचार पद्दति
सर्पदंशका पीडितमा विषको लक्षण देखिएको छैन भने २४ घण्टा अवलोकन गर्ने गरिन्छ । बिषको लक्षण देखा परेन भने थप केही समय राख्ने अथवा पीडितलाई डिस्चार्ज गर्ने गरिन्छ । विषको लक्षण देखा परेको छ भने स्नेक एन्टिभेनम् भाइल दिन शुरु गरिन्छ । स्नेक एन्टिभेनम् भाइल सर्पको विषका निम्ति एकमात्र औषधि हो ।
गोमन सर्पले डसेको हो भने गोमन सर्पकै विषबाट बनाइएको स्नेक एन्टिभेनम् भाइल प्रयोग गर्नु राम्रो हो । त्यस्तो स्नेक एन्टिभेनम नहुँदा ‘पोलीभलेन्ट’ लगाउने गरिन्छ । त्यो लाभदायक भए पनि स्वास्थ्यका लागि हानीकारक हुन सक्छ ।
नेपालमा सबैमा प्रयोग गरिने स्नेक एन्टिभेनम् भाइल ‘पोलीभलेन्ट’ नै हो । त्यो ‘पोलीभलेन्ट’ करेत, कमन कोब्रा र २ भाइपर सर्प प्रजातिको विष समि्रश्रण गरी बनाइएको हुन्छ । त्यो स्नेक एन्टिभेनम् भाइलले उल्लेखित ४ सर्प प्रजातिले टोकेको अवस्थामा उपयोगी सिद्ध हुन्छ । तर, पाँचौं प्रजातिको सर्पले टोकेको हो भने त्यो स्नेक एन्टिभेनम् भाइलले काम नगर्ने संभावना बढी हुन्छ र बिरामीको मृत्यु हुन सक्छ ।
कुनै बिरामी समयमै अस्पताल पुर्याई स्नेक एन्टिभेनम् भाइल प्रयोग गर्दागर्दै मृत्यु भयो भने त्योे ‘पोलीभलेन्ट’ ले काम नगरेको हो । अर्थात त्यो सर्प प्रजाति अनुसार स्नेक एन्टिभेनम् भाइल प्रयोग नभएर हो ।
ठूला अस्पतालभन्दा सर्पदंश केन्द्र नै ठीक
सर्पदंशका निम्ति ठूला अस्पतालभन्दा सर्पदंश उपचार केन्द्रमै उपचार गर्न ठीक हुन्छ । अस्पतालमा अनावश्यक स्नेक एन्टिभेनम् भाइल प्रयोग गर्ने गरेको पाइन्छ ।
कोशी अञ्चल अस्पतालमा एक बिरामीलाई १ सय भाइल चढाएको रेकर्ड छ । वीपी अस्पताल धरानमा समेत सावधानीपूर्वक उपचार गरेको पाइएन । प्रेम बिष्टलाई सिन्धुलीमै १४ भाइल चढाइएको थियो । धरानमा थप २० भाइल जति चढाउँदा बिष्टको अवस्था सुधि्रएकै थियो । तर, लगातार थप ३६ भाइल चढाइयो । त्यसपछि बिरामीे ठीक भएजस्तो देखिएर फेरि लल्याक-लुलुक भए ।
सर्प सम्बन्धी अध्ययन गर्दै आएका स्नातकोत्तर क्याम्पस बिराटनगरका उप- प्राध्यापक कुलप्रसाद लिम्बुले स्नेक एन्टिभेनम् भाइल बढी भयो भन्दा मात्रै डाक्टरले बन्द गरेका थिए ।
यसको असर बिष्टमा देखियो । शरीरका केही भाग सुन्नियो । जसले गर्दा उनले ओछ्यानमा हप्तौं बिताउनुपर्यो ।
सर्पले टोकेपछि ध्यान दिनुपर्ने कुराहरुसर्पले डसेको हात वा खुट्टालाई हलचल हुन दिनुहुँदैन । पीडितलाई ढल्काएर आरामसँग राख्नुपर्छ । काम्रो लगाएर भए पनि डसेको भाग हल्लिन दिनु हुँदैन । डोरीले कहिल्यै बाँध्नु हुँदैन ।
सर्पले टोक्दा पीडितमा अत्यधीक मृत्युको भय फैलिन्छ, जसले गर्दा बिष फैलिएर भन्दा पनि डरकै कारणले पीडितको मृत्यु हुन सक्छ । त्यसैले पीडितलाई नजिक रहेका व्यक्तिले शान्त्वना दिनु पर्छ । केही हुँदैन, विष चाँडै फैलँदैन, फैलिहाले पनि उपचारपछि नियन्त्रण हुन्छ भनेर सम्झाउनुपर्छ ।
जानकारहरुका अनुसार प्राथमिक उपचारका निम्ति सर्वप्रथम सर्पले डसेको हात वा खुट्टालाई हलचल हुन दिनुहुँदैन । पीडितलाई ढल्काएर आरामसँग राख्नुपर्छ । काम्रो लगाएर भए पनि डसेको भाग हल्लिन दिनु हुँदैन । डोरीले कहिल्यै बाँध्नु हुदैन । बाँधिएका कारण नशामा प्रेसर पर्छ र झन चाँडो विष फैलन्छ । अर्कोतिर डोरीले बाँधेपछि हातखुट्टा नै काम नलाग्ने हुनसक्छ ।
त्यसैगरी पीडित आँफै कुदेर अस्पताल वा सर्पदंश उपचार केन्द्रमा जानु हुँदैन । कसैको सहारामा आरामसँग जानुपर्छ ।
सर्पदंशमा पीडितलाई औसत २५ स्नेक एन्टिभेनम् भाइल दिइनुपर्ने हो । बढी प्रयोग गरिनुले औषधिको क्वालिटी शंका गर्ने पर्ने हुन्छ । स्नेक एन्टिभेनम् भाइललाई क्वालिटी परीक्षण गर्न (फर्माको भिजिलियन टेष्ट) आवश्यक छ ।
स्नेक एन्टिभेनम् भाइल बढी प्रयोग भए पीडितमा के कस्तो असर पर्छ भन्ने पनि अनुसन्धान हुनु आवश्यक छ । नेपालमा डाक्टरहरु त्यसप्रति अनभिज्ञ छन् ।
नेपालमा दबाइ उत्पादन गर्न सकिन्छ । सर्पको विष प्रेम बिष्टले पालेका सर्पबाट लिन सकिन्छ । कानुनको आवश्यकता परे सभासदले त्यसप्रति ध्यान दिन जरुरी छ ।
नेपालमै औषधि बनाउन सकिन्छ
नेपालमा स्नेक एन्टिभेनम् भाइल उत्पादन गर्न सकिन्छ । त्यसका निम्ति स्नेक एन्टिभेनम् भाइल कार्यमा संलग्न भई सेवानिवृत्त भएका भारतीय नागरिक वा अन्यबाट त्यो कार्य अघि बढाउन सकिन्छ । घोडा तराई, पहाड, हिमाल जताततै बाँच्न सक्छ ।
सर्पको विष प्रेम बिष्टले पालेका सर्पहरुबाट लिन सकिन्छ । ऐन कानुनको आवश्यकता परे संविधानसभाका युवा सभासदहरुले त्यसप्रति ध्यान दिन जरुरी छ । आज नेपाललाई खाँचो पर्दै आएको स्नेक एन्टिभेनम् भाइल भोलि नेपालले विश्वलाई बेच्न सक्छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें