बुधवार, 27 अगस्त 2014

पहिरो र चट्याङले स्याङ्जामा दुईको मृत्यु, चार घाइते

११ भदौ,स्याङ्जा ।  पहिरोले पुर्दा र चट्याङ लागेर स्याङ्जामा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । पहिरोले पुरिएर मृत्यु हुनेमा पुतलीबजार नगरपालिका-९ की उर्मिला साह र चटयाङबाट मृत्यु हुनेमा मग्याम चिसापानी गाविस-७ की डिलमाया गुरुङ रहेकी जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। पहिरोमा घाइते हुनेमा ५२ वर्षीय भद्रबहादुर साह, २९ वर्षीय लब्धे साह, १९ वर्षीय अमृत साह र १४ वर्षीय सुजन साह छन् । अविरल वर्षाले स्याङ्जाका विभिन्न स्थानका छवटा घरगोठ बगाएको छ भने सयौँ रोपनी जग्गा डुबानमा परेको छ । दहथुम गाविसस्थित बयरघारी बजार र वालिङ नगरपालिकामा नवनिर्मित पतञ्जली योग शिविर केन्द्र पनि पानीको डुबानमा परेको बताइएको छ ।
वर्षाले पुतलीबजार नगरपालिका-४ स्थित बाडखोलाकी धनकुमारी थापा र अर्जुनचौपारी बजारका रुद्रबहादुर जोगी माइलाको घर बगाएको छ । त्यसैगरी बेकमबहादुर कार्कीको गोठ बगाउँदा भैंसी मरेको छ ।
यसैगरी, पेलाकोट गाविसस्थित तल्लो गल्याङमा रहेको पक्की पुल र पौवेगौडे गाविसमा रहेको पुल जोखिममा छ । आँधीखोला किनारको बङ्गुरको खोर बगाउँदा आठवटा बङ्गुर र अरौँदी खोलाको किनारको पोल्ट्री फारमसँगै हजारौँ कुखुरा बगाएको प्रहरीले जनाएको छ । रासस

कोई टिप्पणी नहीं: