कमल भट्ट चैत्र १४ - यस वर्ष सयौं वर्षको बहुसंख्यक नेपाली जनताको दासत्वबाट मुक्ति हुने चाहनालाई जबर्जस्ती कुल्चियो । ३ जना शीर्ष नेताले भारतलाई गाली गरेर, प्रतिरोध गरेको जस्तो गरेर र भारतीय विशेषदूतसँग कुस्ती नै खेलेको उदाहरण दिएर, बहुसंख्यक जनतालाई फेरि दास बनाएर एक थान निरंकुशता र विभेदले भरिएको कागजको खोस्टो लागू गरेर आफूलाई राष्ट्रवादीको रुपमा उभ्याउन सफल भए । नेपालको इतिहासमा कहिल्यै नभएको वा नगरिएको पवित्र कार्य जनताद्वारा चुनिएका प्रतिनिधिद्वारा जनताको लागि आफैले लेखेको संविधान ल्याउन सफल भए भनेर झ्याली पिटाइयो ।कुनै नेताका आसेपासेले उनलाई संविधानका पिता भन्न एक सेकेन्ड पनि बेर लाएनन्, अहिले सरकारमा आसीन प्रधानमन्त्री केपी शर्मा ओली त गैंडा गान गाउँदै, भारतलाई गाली गर्दै, बहुसंख्यक जनताको विरोधको आवाजलाई भारतसँग जोडेर भारतले नेपालमा अस्थिरता खोजेको भन्ने न्याराटिभलाई आधार बनाई प्रधानमन्त्री भए र नेपालको राजनीतिमा राष्ट्रवादी हुने नेतामा शाहवंशीय राजा महेन्द्रपछि दोस्रो हुन सफल भए ।
देशमा बसोबास गरिरहेका विभिन्न आदिवासी लोप हुँदै जाँदा हामीलाई दुखेन, छिमेकमै बस्ने झाँगड र सन्थालको संख्या कम हुँदा हाम्रो राष्ट्रवाद जागेन किनकि एक समुदाय लोप हुँदा उसको आपुताली जमिन खाने हाम्रो प्रवृत्तिलाई यस्ता कुराले पोलेन ।
वास्तवमा हामीलाई सानैदेखि देश के हो भनेर परिवार, विद्यालय, समाजमा सिकाइएको कुरा के हो भने, यो माटो हाम्रा खेत-खलिहानहरु, नदी, जंगल, सगरमाथा हाम्रो राष्ट्र हो भनेर चिनाइयो । र, हामी त्यही परिभाषालाई हृदयंगम गर्दै हुर्कियौं तर कहिले यो माटो र भूगोलमा बस्ने आफूजस्तै अरु देशवासीलाई समाहित गरेर यो राष्ट्रको पुनर्व्याख्या गर्न चाहेनौं । सबैभन्दा चाँडो सत्तामा पुगिने र सत्तामा बस्न टिकिरहने मुख्य सूत्र छिमेकी र विशेषगरी ‘भारतलाई सत्तोसराप गर्ने’ को सहारामा राजनीति चलाइरहेकाहरु नेपालको राजनीतिमा हावी भए ।वीर गोर्खालीका गाथाहरु बेचिए तर अन्य देशको लागि पनि ज्यान आहुति गर्न सक्ने वीर गोर्खालीलाई आफ्नै देशमा राजनीतिक र सामाजिक रुपमा पछाडि पारियो ।
त्यही मधेसबाट आएको राजस्वले देश संचालन गरियो र त्यसमा लुट मच्चाइयो । तर त्यस भूगोलभित्र रहेका मधेसी जनतालाई राजनीतिक, आर्थिक र सामाजिक रुपमा अत्यन्तै भेदभाव गरेर उनीहरु यो देशको लागि होइन भारतको इशारामा आन्दोलन गर्छन् र गर्दै आएका छन् । भारतले जसरी सिक्किमलाई आफ्नो भूभागमा गाभ्यो, त्यसैगरी मधेस भूभाग पनि भारतले आफ्नो देशमा गाभ्ने अभियानमा मधेसीको समर्थन छ भन्ने खालका प्रोपोगन्डा फैलाइयो ।
पश्चिम तराई बस्न योग्य बनाएर सरकारलाई भौतिक विकासका लागि बाटो सहज गरिदिने, पहाडमा बाढीले बगाएका बस्तीलाई र पीडित जनतालाई बसोबासयोग्य र खेतीयोग्य जमिनको बिस्तारमा सहयोग गर्ने आदिवासी थारु जातिलाई बँधुवा कमैयाजस्तो प्रथाले शासन गर्दा पनि राष्ट्रियता कायम नै रह्यो भन्ने कुरा प्रचार गरिँदै आयो ।
त्यसै, उही जातिले बनाएका लुगा, भाँडा, कृषियोग्य औजारहरु, जुत्ता, गहना, दूध इत्यादि शुद्ध हुने तर त्यही शिल्पी जातिलाई अशुद्ध र अछूत भनेर समाजमा हौवा फैलाएर शासनको आड बनाउने एक विशिष्ट जातले जसरी तिनलाई दलनमा पार्यो र दलित भनेर उक्त जातिलाई जनाइयो, सँगै शिक्षाबाट वञ्चित पारेर, नक्कली तमसुक बनाउँदै पुस्तौं हलिया बनाउने प्रयत्न पनि राष्ट्रियता हो भनेर परिभाषित गरियो ।
यसरी राष्ट्रवादको नाममा एकल जाति र समुदायको पहिचान, उसको संस्कृतिको मात्र राजकीय सम्मान गर्ने अनि अन्य जाति र जनसंख्याको पहिचान, तिनीहरुको राज्यमा सहभागिता देख्नै नचाहने समुहहरु, मिडियामा जनता नभएको राष्ट्रवादको प्रचार गरेर, एकले अर्कोलाई राष्ट्रघाती साबित गर्न खोजेर र जनतामा भ्रम पारेर सत्ता-सहवास गर्न पल्केका राजनीतिक पार्टी हावी भए र हामी खाली भूगोललाई आधार बनाएर राष्ट्रवादको परिभाषा बुझ्ने गरी मूर्ख बनाइयो ।
राष्ट्रवाद र फासीवादले हामीलाई यसरी गाँजे कि हामीलाई आफ्नै सरकारले कालाबजारीसँग मिलेर अर्बौं लुटेको थाहा पाएनौं ।
लिपुलेकमा चीन र भारतले गरेको अतिक्रमण हामीलाई दु:ख्न थाल्यो, सुस्ता दुख्न थाल्यो, शनै:शनै गरी नेपाली भूभाग रातभरिमै लोप भएको दु:ख्न थाल्यो । तर, देशमा बसोबास गरिरहेका विभिन्न आदिवासी लोप हुँदै जाँदा हामीलाई दुखेन, छिमेकमै बस्ने झाँगड र सन्थालको संख्या कम हुँदा हाम्रो राष्ट्रवाद जागेन किनकि एक समुदाय लोप हुँदा उसको अपुताली जमिन खाने हाम्रो प्रवृत्तिलाई यस्ता कुराले पोलेन ।पहिचान भनेको कुनै जातको बर्चस्व हुने शासन हो भन्ने प्रोपोगन्डा फैलाउनेहरुलाई म के भन्न चाहन्छु भने यो भूभागमा बसेका सम्पूर्ण जाति, समुदायले राज्यव्यवस्थामा आफ्नो सहभागिताद्वारा अपनत्व खोज्ने प्रक्रिया पहिचान हो न कि अहिलेको जस्तो एकल जातीय, सम्प्रदाय झल्काउने राष्ट्रिय झण्डा, राष्ट्रिय चिन्ह, भाषा इत्यादि ।
राज्यका सम्पूर्ण जनताले आफ्नो प्रतिबिम्ब शासनमा देख्नु पहिचान हो, एक समुदायमा एक जातिले अर्को जातिमाथि शासन नगरेर समभाव राखोस् भन्ने चाहना, कुनै पनि जातिमाथि उसको छालाको रंग हेरेर विभेद नगरियोस्, उसको पछिल्लो नाम हेरेर छुवाछूत जस्तो कुकृत्य नगरियोस् भन्ने चाहना, देशभित्रै एक समुदायले अर्को समुदायमाथि शासन नगरोस् भन्ने चाहना, कुनै एक समुदायले मात्रै राज्यबाट आर्थिक रुपमा लाभ लिने र बाँकी रहेका जनता एक छाक टार्न धौ धौ पर्ने अवस्था नहोस् भन्ने चाहना तथा कुनै कम्पनीको मालिकले करोडौं कमाउने र मजदुरलाई चिया खर्च पनि नपुग्ने अवस्था नदोहोरियोस् भन्ने चाहना नै पहिचान हो ।
२०७० सालमा भएको संविधानसभा चुनावमा पहिचानवादी जामा लगाएर, आआफ्नो घोषणापत्रमा समावेशिता, पहिचान र आरक्षण जस्ता मुद्दालाई मुख्य एजेन्डा बनाई निर्वाचन जितेका यथास्थितिवादीहरुको उदयले यो देशको अग्रगामी चिन्तन धरापमा पर्यो । तैपनि झिनो आशा पालेर बसेका जनताहरुमा २०७२ को महाविनाशकारी भूकम्पपछिको फास्ट ट्रयाकबाट ल्याइएको पहिचान, समानुपातिक समावेशिता, संघीयता, धर्मनिरपेक्षताविरोधी संविधान जुन २०१७ सालमा निरंकुश राजा महेन्द्रले सैनिक ‘कु’ पछि ल्याइएको २०१९ को संविधानसँग मेल खान जान्छ । उक्त संविधानलाई सच्याउन आग्रह गर्दै विरोधमा उत्रने जनताहरुलाई अराष्ट्रिय तत्व कहलिए ।
आर्थिक व्ययभार थेग्न नसकेर विद्यालय जानबाट वञ्चित तथा जीविकोपार्जनका निमित्त कैलालीबाट धानको खेतमा काम गर्न बर्दिया जाने कमैया शिविरकी १५ वर्षीया दश्नी चौधरीले राज्यमा, शासनमा आफ्नो सहभागिता माग्दा उसको जातलाई सम्प्रदायीकरण गरेर जसरी असंख्य थारुका घरमा आगजनी, घरमा भएका आमा, बहिनी र छोरीमाथि हातपात र बलात्कारको प्रयासले जन्माएको आवेगको विस्फोटनले शासन रक्षार्थ खटिएका सुरक्षाकर्मी दाजुभाइमाथि भएको सांघातिक आक्रमणपछिको निर्मम हत्या र राज्यको आडमा अतिवादीहरुले थारुहरुमाथि दमन गरेर उक्त समुदायको युवा समुदाय नै यो देशबाट पलायन हुने अवस्था ल्याइयो ।
उखान टुक्का गर्ने प्रधानमन्त्रीका हावाबाट बिजुली निकाल्ने, काठमाडौंमा रेल चलाउने, स्मार्ट सिटी बनाउने, एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने हावादारी गफ हामीले चाखपूर्वक सुन्यौं तर टीकापुर घट्नापछि विनाप्रमाण धरपकड गरी यातना दिइएका थारु युवाहरुको चित्कार सुनेनौं ।
त्यसैगरी ‘भैया’को पहिचानबाट नेपाली हुन खोज्ने मधेसी दाजुभाइलाई छाती र टाउकोमा ताकेर गैरन्यायिक हत्याको श्रृङ्खला सुरु गरेर ५६ जनाको हत्या गरेर पहिचानको आवाजलाई दमन गर्न खोजियो । अनि छिमेकी राष्ट्रले आफ्नो निहीत स्वार्थका निमित्त नाका असहज पारेको विषयलाई पहिचान र अधिकारको आन्दोलनलाई विखण्डनकारीको जामा पहिर्याएर, देशमा सिक्किमीकरणको खतराको प्रपोगन्डा फैलाउँदै जनताको आँखामा छारो हालेर, राष्ट्रवाद भनेको भूभाग मात्र हो र छिमेकी भारतको घोर विरोध गर्नु हो भनेर विभिन्न मूलधारका मिडियाबाट सम्प्रेषण गराइयो । केही हदसम्म विशेषगरी पहाडी भेगका जनताहरु यस परिभाषामा सहमत भएर भ्रमित भए जसका कारण मधेसमा भएको बर्बर, अमानवीय गैरन्यायिक हत्याको श्रृङ्खलालाई जनताले नजरअन्दाज गरे ।राष्ट्रवादको धङधङीमा खाना पकाउने ग्याँस, इन्धन आपूर्तिमा कालो बजारी गरेर हजारौं-करोड रुपैयाँ अकुत रुपमा कमाउने कालो बाजारीलाई हामीले केही भन्न सकेनौं र टुलटुलु ५ सय रुपैयाँको पेट्रोल, ७ हजार रुपैयाँमा खाना पकाउने ग्याँस र दोब्बर मूल्यमा डिजेल किन्यौं । तर मधेसीमाथिको दमन हाम्रो आँखाले देखेन र मनलाई पनि छोएन । २-४ थान भौगोलिक तथा अन्धराष्ट्रवादको वकालत गर्ने चटकमा विश्वास गर्यौं तर आदिवासी जनजातिले यो देशमा मूलधारमा समाहित हुन गरेको आह्वानलाई सुनेनौं ।
त्यसैगरी डलरका निमित्त धर्म परिवर्तन गर्ने प्रवृत्तिका मानवअधिकारका कुरामा हामी भुल्यौं तर मधेसका घरघरमा बुट बजार्दै बन्दुकका कुन्दाले मधेसी महिलामाथि गरिएको अत्याचारप्रति हामी उदासीन भयौं । उखान टुक्का गर्ने प्रधानमन्त्रीका हावाबाट बिजुली निकाल्ने, काठमाडौंमा रेल चलाउने, स्मार्ट सिटी बनाउने, एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने हावादारी गफ हामीले चाखपूर्वक सुन्यौं तर टीकापुर घट्नापछि विनाप्रमाण धरपकड गरी यातना दिइएका थारु युवाहरुको चित्कार सुनेनौं । राष्ट्रवाद र फासीवादले हामीलाई यसरी गाँजे कि हामीलाई आफ्नै सरकारले कालाबजारीसँग मिलेर अर्बौं लुटेको थाहा पाएनौं ।
अन्त्यमा २०१७ सालमा निरंकुश राजा महेन्द्रले प्रजातन्त्र अपहरण गरेपछि अपदस्थ गरिएका तत्कालिन प्रधानमन्त्री तथा जननेता विपी कोइरालाले राष्ट्रवादको बारेमा व्यक्त गरको विचार सापटी लिन्छु ः
“मैले भन्न खोजेको के हो भने देश भन्नोस् चाहे राष्ट्र भन्नोस्; त्यो भूगोल होइन, त्यो माटो होइन । त्यो यथार्थमा जनता हो । जुन कुराले जनताको हित हुन्छ, त्यही कुरो देशहितको कुरो हो । जनताको अधिकार देशको अधिकार हो । जनताको अधिकार हनन् देशको अधिकार हनन् हो । यदि नेपाल भूगोलबाट एक करोड नेपाली जनताको आवादी लोप भयो भने मेरो अर्थमा नेपाल लोप हुन्छ, यद्यपि भूगोल आफ्नो ठाउँमा जस्ताको तस्तै स्थायी भइरहनेछ ।”
जय मधेस, जय लिम्बुवान, जय खम्बुवान, जय थरुहट, जय नेवाः, जय मगराँत, जय तमुवान, जय कर्णाली, जय मजदुर, जय जनता, जय समानता, जय नेपाल !
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें