सोमवार, 1 फ़रवरी 2016

जनजाति युवा फोर्सले भ्रष्टाचारीलाई कारबाही गर्ने (युवाहरुको प्रश्न : पहिचानसहितको प्रदेश खोई ?)

काठमाडौं, माघ १८ । आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका संयोजक पद्मरत्न तुलाधरले नयाँ संविधानको नाममा आदिवासी जनजाति, मधेसी, मुश्लिम, दलितलगायतका उत्पीडित जनतालाई अर्को धोका भएको बताएका छन् ।

जनजाति युवा फोर्सले भ्रष्टाचारीलाई कारबाही गर्ने (युवाहरुको प्रश्न : पहिचानसहितको प्रदेश खोई ?)राष्ट्रिय युवा फोर्सद्वारा  आयोजित युवा मार्चपास कार्यक्रममा बोल्दै संयोजक तुलाधरले सो कुरा बताएका हुन् । तुलाधरले उत्पीडित जनताको अधिकार उल्लेख नगरी घोषित संविधानले युद्धको आह्वान गरिएको बताए ।
वर्तमान सरकार जातीय हिंसा भड्काउन उद्यत रहे पनि पहिचानको आन्दोलन शान्तिपूर्ण हुने बताए । उनले कांग्रेस, एमाले र एमाओवादी नेता तथा सरकारलाई प्रश्न गर्दै भने, ‘पहिचानसहितको संघीय राज्य खोई ?’
भृकुटीमण्डपबाट सुरु भएको युवा मार्चपास सहिद गेट, शान्तिवाटिका, नयाँ बानेश्वर, बागबजार हुँदै पुन भृकृटीमण्डमा पुगेर समापन भएको थियो ।

कार्यक्रममा आदिवासी जनजाति महासंघका पूर्वमहासचिव डा. ओम गुरुङलगायतका आदिवासी नेताहरुको सहभागिता रहेको मार्चपास फोर्सका संयोजक जि.एस. गुरुङले नेतृत्व गरेका थिए ।
सम्बन्धित राज्यका युवाहरूले ‘किरात, तामाङसालिङ, नेवाः, तमुवान, मगरात, मधेस, थारुवान, लिम्बुवान खोई ?’ भन्ने प्लेकार्ड तथा ब्यानरका साथ नारा–जुलुससहित मार्चपास गरेका थिए ।
मार्चपास सुरु हुनुअघि सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै २ मिनेट मौनधारणसमेत गरिएको थियो ।
फोर्सको ब्यानरमा मधेसीमाथिको दमन, कालोबजारी, भूकम्प पीडितलाई वितरण हुने राहत तथा पुनःनिर्माण कार्यमा भइरहेको भ्रष्टाचार, मधेसी सहिदहरुप्रति भइरहेको विभेदको कडा आलोचना गरिएको छ ।
फोर्सले भ्रष्टाचारीलाई कारबाही गर्ने समेत उल्लेख छ ।

कोई टिप्पणी नहीं: