सोमवार, 20 मई 2013

तरकारी बेचेर घरैपिच्छे टीभी

पाल्पा, जेष्ठ ६ - पहिले टीभी हेर्न गाउँका 'ठूलाबडा' कहाँ जानुपथ्र्यो । घरधन्दा सकेर राति गाउँकै धेरै जना जम्मा भएर एकै ठाउँमा टीभी हेर्थे । तर आजकाल घरैपिच्छे टीभी भइसक्यो । हरेक छानामा डिस एन्टेना टाँगिएका छन् । दोभान गाविसमा भनिन्छ, 'एन्टेना भएको घरमा तरकारी पाइन्छ ।'
तरकारी खेतीबाट आयआर्जन गरी परिवारको आर्थिक हैसियत बढेको हो दोभानमा । 'एन्टेना त एउटा देखिने संकेत भयो । तरकारीबाट धेरै उन्नति भएको छ । त्यसबाट प्रविधिको सुविधामात्र हैन । छोराछोरी पढाउन धौधौ हुनेले पनि बोर्डिङ पढाउँछन्,' सुमन बगाले मगरले भने । कतिपयले तराई क्षेत्रमा जग्गा पनि किन्न थालेका छन् । दुई वर्ष अघिसम्म भने यस्तो अवस्था नभएको गाविस सचिव यादव अर्यालले बताए । 'दुई वर्ष पहिले दोभानको धेरै टोलका बासिन्दाको जीवनस्तर निकै तल थियो,' उनले भने, 'अहिले त्यस्तो अवस्था छैन, सबैको जीवनस्तर तरकारी खेतीले निकै माथि उठाएको छ ।' दुई/चार हजार चाहिएमा साहूको घरमा ऋण माग्न जानुपर्ने अवस्था अन्त्य भएको उनी बताउँछन् ।
तरकारी खेती भन्नेबित्तिकै यस जिल्लामा मदनपोखरालाई नै चिनिन्छ । तर पछिल्लो समयमा दोभान गाविस तरकारी खेतीमा अगाडि बढेको छ । यहाँका २ सय ५० बढी कृषक तरकारी खेतीमा आबद्ध छन् ।
कामका लागि विदेश जान धेरै रहर गरेका एक हुन् बेलदमारका टुमबहादुर गाहामगर । नेपालबाट नमिलेर भारतको दिल्लीसमेत चहारे । झन्डै १ लाख रुपैयाँ उनले विदेश जाने काममा खर्चेको बताउँछन् । दलालले उनलाई दुःख दिनुदियो । त्यसपछि उनलाई दोभानमै फर्केर तरकारी खेती गर्ने सोच बनाएर लागेका उनले भने, 'त्यसपछि सुरु गरेको तरकारी खेतीले अहिले मलाई र मेरो परिवारलाई सुखी बनाएको छ ।'
उनले वाषिर्क १ लाख ५० हजार रुपैयाँ नाफा गर्न सकेको बताउँछन् । दोभानको बेलदमार, बोटेगाउँ, लग्दुवा, नुवाकोट लगायतका थुप्रै गाउँमा तरकारी खेतीको व्यावसायिकता आएको
छ । गाहामगर मात्र नभएर लग्दुवाका अनन्तराम बस्यालले पनि तरकारी खेती गरेर मनग्य फाइदा लिन सफल बनेका छन् ।
नेपाल आर्थिक कृषि तथा व्यापार कार्यक्रम (निट) पाल्पाको सहयोगमा उनीहरू दुई वर्षदेखि व्यावसायिक तरकारी खेती गर्न थालेका हुन् । घरमै प्राविधिक सेवा पाएपछि नजानेकाले पनि तरकारी खेती गर्न सिकेको अगुवा कृषक बस्यालले बताए । अहिले बोडी, गोलभेंडा, बन्दा, करेला लगाएका छन् । उनीहरू बिहानदेखि साँझसम्म तरकारी खेतीमै व्यस्त हुन्छन् ।
उनले काँक्रोबाट मात्रै वाषिर्क ६० हजार, गोलभेंडाबाट ७० हजार, काउली, बन्दाबाट ५० हजार, सिमी, बोडीबाट २० हजार रुपैयाँ कमाउने गरेको सुनाए । बस्यालले बेमौसमको काँक्रो, बन्दा, सिमी, गोलभेंडा, बोडी, करेला लगाउने गर्छन् ।
दस किलोमिटरमा बुटवल भएकाले बजारको कुनै समस्या छैन । शनिबार र बुधबार लाग्ने हाटले सजिलो बनाएको स्थानीय सरस्वती पाण्डेयले बताइन् । तराईमा धेरथोर जग्गा जोड्न सफल भएका छन् ।
राम्रो लगाउने र स्वस्थ खानुपर्छ भन्ने भावना जागेको छ ।
फोक्सिङखोला, नुवाकोटलगायतका पानी अभाव भएका स्थानमा प्लास्टिक, पक्की पोखरी बनाउन सहयोग गर्ने वरिष्ठ कृषि विकास अधिकृत महेन्द्र कौडालले बताए । निटका कार्यक्रम प्रमुख मीन श्रेष्ठले दोभानमा १३ वटा तरकारी र तीन वटा पशुपालनको समूह रहेको बताए ।
कार्यक्रमको अनुगमन गर्न पुगेका स्थानीय विकास अधिकारी दीर्घबहादुर पोखरेलले गोरेटो बाटो निटले खनिदिएकाले अब चौडा पार्ने र मूल सडक बनाउने जिम्मा दोभानका बासिन्दाको भएको बताए । उनले गैरसरकारी संस्थाले छाडे पनि जिल्लामा रहेका सरकारी निकाय कृषि, पशु सेवा कार्यालयमा पुगेर सेवा लिन सक्नुपर्ने बताए ।

कोई टिप्पणी नहीं: