वासिङ्टन (एजेन्सीहरू), जेष्ठ ८ - अमेरिकाको ओक्लाहोमा सहरमा सोमबार आएको टोर्नाडो हुरीबाट जनजीवन अस्तव्यस्त भएको छ । अहिलेसम्म ९ बालबालिकासहित कम्तीमा २४ जनाको मृत्युको पुष्टि भएको अधिकारीहरूले जनाएका छन् ।
दुई दर्जन बालबालिकासहित थुप्रै हराइरहेका छन् । करिब १ सय ४५ घाइतेलाई अस्पताल भर्ना गरिएको छ । सयौं घरका छाना उडाएको छ । दुई विद्यालयमा व्यापक क्षति पुगेको छ । ओक्लोहामाका गभर्नर म्यारी फालिनले पत्रकार सम्मेलन गरी आँधीले सहरमा अपूरणीय क्षति पुर्याएको जानकारी दिए । ओक्लोहामाको दक्षिणतर्फका बासी मुरे समुदायलाई यसले निकै प्रभावित पारेको छ । उद्धारकर्ताले मुरे क्षेत्रमा घर, विद्यालय र अस्पतालको भग्नावशेषमा जीवितको सोमबार रातिदेखि खोजी गरिरहेका छन् । मुरे समुदायका बालबालिकालाई विद्यालयबाटै हावाले उडाएको बताइएको छ । उक्त क्षेत्रमा विद्यालय गएका बालबालिका र अभिभावकको गुहारले गुन्जिएको थियो । अझैं बिजुली चम्कन र हुरी चल्न छाडेको छैन ।
खोजतलास र उद्धार कार्यका लागि ओक्लाहामाका २ सयभन्दा बढी राष्ट्रिय सुरक्षागार्ड र अन्य राज्यका अधिकारीहरूलाई परिचालन गरिएको छ । राष्ट्रपति बाराक ओबामाले यसलाई ठूलो विपत्तिको संज्ञा दिँदै संघीय राज्यहरूलाई हातेमालो गर्न निर्देशन दिएका छन् । ५५ हजार जनसंख्या भएको मुरेमा हुरीले सोमबार झन्डै ४५ मिनेटसम्म विध्वंस मच्चाएको थियो । यो कठिन घडीमा पूरा मुलुक मुरेबासीको साथमा रहेको उनले बताए ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें