मंगलवार, 18 अक्टूबर 2011

तिवारी हत्याकाण्डका अभियुक्त गुठी संस्थान प्रमुख

केपी ढुंगाना, काठमाडौं, कात्तिक १- काशीराम तिवारी हत्याकाण्डका एक अभियुक्तका रुपमा पर्सा अदालतमा मुद्धा दायर भएका बलिरामप्रसाद साह तेली गुठी संस्थान प्रमुखका रूपमा राजधानीमा कार्यरत रहेको खुलेको छ। जिल्ला न्यायाधिवक्ता कार्यालय, पर्साले उनलाई हत्याको मतियार भएको आरोप लगाउँदै तीन वर्ष कैदको मागसहित मुद्दा दायर गरेको छ।
अदालतले उनको नाममा 'हाजिर हुन' आदेश जारी गरिसकेको छ। उनी भने दिनहुँ डिल्लीबजारमा रहेको संस्थान मुख्यालय आउँछन् र दिनभरि बस्छन्।
आइतबार राजीनामा दिएका भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभु साहले एक महिनाअघि मात्रै बलिरामलाई संस्थानका 'प्रशासक'मा नियुक्त गरेका हुन्।
बलिराम एकीकृत माओवादीबाट गत संविधानसभा निर्वाचनमा पर्सा-४ मा तर्फबाट उम्मेदवार बनेका थिए।
जिल्ला न्यायाधिवक्ता कार्यालय, पर्साले प्रमाण नपुगेको भन्दै साहलाई उन्मुक्ति दिए पनि उनका सहयोगी बलिरामलाई भने 'हत्याको मतियार' भन्दै अभियुक्त बनाएको छ।
मोटरसाइकल चलाउने अमन कुशवाह, गोली हानेको भनिएका सियाराम कुशवाह र सहयोगी मुकेश सर्राफ तथा बलिराम तिवारी हत्यामा संलग्न रहेको अभियोगपत्रमा उल्लेख छ। उनीहरूलाई अभियुक्त बनाएर असोज २५ गते मुद्दा दायर गरिएको थियो।
अदालतले थुनछेक बहस सिध्याएर पक्राउ परेका अमनलाई पुर्पक्षका लाथि थुना पठाउने र फरार बलिराम, सियाराम र मुकेशलाई अदालतमा हाजिर हुने आदेश दिएको छ।
संस्थान स्रोतका अनुसार, पर्सा प्रहरीले साह र सियारामविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि बलिराम केही दिन कार्यालय आउन छाडेका थिए। प्रहरीले पक्राउ गरी अभियोग लागे उनी स्वतः निलम्बनमा पर्थे। तर, प्रहरीले आफ्नो नाममा पक्राउ पुर्जी जारी नगरेको थाहा पाएपछि उनी फेरि कार्यालय आउन थालेको त्यहाँका कर्मचारीले बताए।
'कानुनअनुसार अदालतमा हाजिर हुन पर्याप्त समय पाइने र अभियुक्त बनाएर मुद्दा दायर हुँदैमा पद नजाने निश्चित भएपछि' उनी कार्यालय आउन थालेको साह निकट स्रोतले बतायो।
'प्रहरीले पक्राउ गरी हिरासतमा राखेको भए तत्काल निलम्बनमा पर्थे,' स्रोतले भन्यो, 'अब भने अदालतले अन्तिम फैसला नगरेसम्म उनको पद सुरक्षित भयो।'
पर्सा प्रहरी प्रमुख रमेश खरेलले बलिरामविरुद्ध पक्राउ पुर्जी जारी नगरेको बताए। साहको योजनामा उनका निजी सचिव सियारामले गोली हानेको खुलेपछि उनीहरूविरुद्ध मात्र पक्राउ पुर्जी जारी गरेको खरेलले बताए।
मुद्दा दायर भइसकेकाले अब अदालतले पक्राउ आदेश नदिएसम्म प्रहरीले समात्न नमिल्ने कानुनी प्रावधान उदृत गर्दै खरेलले भने, 'अदालतले पक्राउ आदेश जारी गरे बलिरामको खोजी गर्नेछौं।'
तिवारीलाई २०६७ असार १२ गते साँझ वीरगन्जमा गोली हानी हत्या गरिएको थियो। पाँच बजेतिर शिव पार्वती मठ हेर्न गएका बेला मोटरसाइकलमा आएका हतियारधारी समूहले उनको हत्या गरेको हो।
हत्याको दोस्रो दिन तिवारीकी श्रीमती बबितादेवीले जलिम मियाँ, बृजकिशोर कुशवाह, सियाराम कुशवाह, मुकेश सर्राफ, सुरेश पटेल र बलिराम साह तेलीविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।
प्रहरीले माओवादी केन्द्रीय सल्लाहकार मियाँ र बृजकिशोरलाई तत्काल पक्राउ गरे पनि दुवै साधारण तारेखमा रिहा भएका थिए। भदौ २२ गते अमन कुशवाहा पक्राउ परेपछि हत्यामा माओवादी नेता प्रभु साहको समेत संलग्नता खुलेपछि प्रहरीले उनलाई अभियुक्त बनाएको थियो। माओवादीका केन्द्रीय सदस्य साह रौतहट- ३ बाट निर्वाचित सभासद् हुन्।

कोई टिप्पणी नहीं: